बंगलादेशका अनुभवी खेलाडी मुस्फिकर रहिमले सामाजिक सञ्जालमार्फत टी–२० क्रिकेटबाट संन्यासको घोषणा गरेका छन्।
रहिमले छोटो ढाँचाबाट संन्यास लिँदै आफू अब टेस्ट र एकदिवसीय खेलमा केन्द्रित हुन चाहेको बताए।
उद्घाटन संस्करणदेखि प्रत्येक टी-२० विश्वकपमा बंगलादेशको प्रतिनिधित्व गर्ने रहिम अर्को महिना अष्ट्रेलियामा हुने टी-२० विश्वकपमा उपलब्ध हुने छैनन्।
उनले आफू फ्रेन्चाइज लिग क्रिकेट खेल्न भने उपलब्ध हुने बताए।
बंगलादेश २०२२ को एसिया कपबाट बाहिरिएपछि उनले टी-२० बाट संन्यास लिने निर्णय गरेका हुन्।
उनको संन्यास टी–२० विश्वकपमा बंगलादेशको लागि दोस्रो झड्का हो। यसअघि स्टार ओपनर तमिम इकबालले पनि टी-२० मा संन्यास लिएका थिए।
रहिमले १०२ टी-२० खेल खेल्दा ६ अर्धशतक र ७२* को उच्च स्कोर सहित १५०० रन बनाए।
जारी एसिया कपमा उनी १ र ४ रनमा आउट भएका थिए। बंगलादेशले श्रीलंकाविरुद्ध जित्नै पर्ने भिडन्तमा उनले महत्वपूर्ण क्याच पनि छोडेका थिए।