युएईमा जारी एसिया कप टी-२० को सुपर चारमा पाकिस्तानले भारतलाई ५ विकेटले हरायो।
मोहम्मद रिजवान र मोहम्मद नवाजले ७३ रनको उत्कृष्ट साझेदारीमा पाकिस्तानले भारतको १८२ रनको लक्ष्य अन्तिम बल खेल्नु अगावै पुरा गर्यो।
उसका लागि रिजवानले ७१ रन बनाउँदा नजावले ४२ रनको सानदार पारी खेले।
त्यसपछि खुशदिल साह र आसिफ अलीले उनीहरूको लय कायम राख्दै पाकिस्तानलाई महत्वपूर्ण जित दिलाए।
आगामी महिना अष्ट्रेलियामा हुने टी-२० विश्वकप अगाडि वार्मअपको रूपमा हेरिएको एसिया कपलाई दुबै मुलुकले महत्वका साथ लिएका छन्।
भारत र पाकिस्तानले एसिया कपको सुपर चारमा अब श्रीलंका र अफगानिस्तानसँग खेल्न बाँकी छ।
भारत र पाकिस्तानको खेल निकै रोमाञ्चक हुने गर्छ। रंगशालासँगै मैदान बाहिर पनि उत्तिकै चर्चा हुन्छ। कुनै पनि मुलुकको हारमा कुनै एक खेलाडीको सानो गल्तीमा पनि ठूलो हंगामा हुने गर्छ।
हार्ने टोलीका कुनै पनि खेलाडीको एउटै गल्ती सामाजिक सञ्जालमा चर्चाको केन्द्र बन्छ। कहिलेकाहीँ त्यो खेलाडीले व्यक्तिगत आक्रमणको सामनासमेत गर्नुपर्ने हुन्छ।
पाकिस्तानसँगको खेलमा भारतको हारपछि सामाजिक सञ्जालमा अर्शदीप सिंहलाई निशाना बनाइएको छ।
खेल अत्यन्तै प्रतिश्पर्धात्मक थियो। जुनसुकै टोलीले जित्न सक्ने सम्भावना थियो।
१८ औं ओभरमा कप्तान रोहित शर्माले रवि विष्णोईलाई बल दिए। त्यसपछि पाकिस्तानलाई १५ बलमा ३१ रन आवश्यक थियो।
१७ औं ओभरमा क्रिजमा जमिरहेका मोहम्मद रिजवानलाई हार्दिक पाण्ड्याले आउट गरेका थिए। त्यसपछि खेल भारतको पक्षमा गएको थियो।
क्रिजमा पाकिस्तानका खुशदिल शाह र आसिफ अली थिए। रविले पहिलो बलमै वाइड फाले। त्यसपछि डट राखेका विश्नोईले दोस्रो बलमा १ रन दिए। तेस्रो बलमा वाइड फालेका विश्नोईले त्यसपछिको बलमा विकेट लिने मौका गुमाए।
रविको तेस्रो बलमा आसिफ अलीले हावामा खराब शट खेलेका थिए। बल थर्ड म्यान फिल्डर अर्शदीपकोमा गएको थियो। यो एक सामान्य क्याच थियो।
अर्शदीप सिंह पनि क्याच लिनमा पूर्ण विश्वस्त देखिन्थे तर बल उनको हातबाट फुत्कियो। यो क्याच छुटेपछि कप्तान रोहित शर्मासँगै भारतीय समर्थकहरू निरास भए।
अब अन्तिम दुई ओभरमा पाकिस्तानलाई जितका लागि २६ रन चाहिएको थियो। १९ औं ओभरमा भुवनेश्वर कुमार बलिङ गर्न आए। उनले १९ रन दिए।
यहाँ आसिफ अलीको क्याच छोड्नु महँगो साबित भयो। एकै ओभरमा आसिफ अलीले छक्का र चौकासहित ११ रन बनाए। खुसदील साहले १ चौकासहित ६ रन बनाए।
अर्शदीपको अन्तिम ओभर बलिङ बाँकी थियो।
पाकिस्तानलाई जितका लागि ६ बलमा सात रन मात्रै आवश्यक थियो। आसिफ अलीलाई अर्शदीपले एलबीडब्ल्यू आउट गरे तर त्यतिन्जेल ढिला भइसकेको थियो। त्यसअघि नै अलीले १ चौका हिर्काइसकेका थिए। त्यसपछि जितका लागि पाकिस्तानलाई २ बलमा २ रन आवश्यक थियो।
पाँचौ बलमा इफ्तिखारले २ रन लिएसँगै पाकिस्तानले अन्तिम बल अगाडि नै खेल जित्यो।
बलिङमा रविसहित भारतका हार्दिक पाण्ड्या र भुवनेश्वर कुमार दबाबमा थिए। रविले ३ वाइड फाल्दा भुवनेश्वर कुमारले २ र हार्दिक पाण्ड्याले १ वाइड फालेका थिए।
भुवनेश्वर कुमारले ४० रन खर्चिँदा हार्दिक पाण्ड्याले ४४, युजवेन्द्र चहलले ४३ अर्शदीपले २७ र रविले २६ रन खर्चिए।
यो पराजयसँगै भारतीय फ्यानहरूले सामाजिक सञ्जालमा अर्शदीपलाई निशाना बनाइरहेका छन्। उनी पाकिस्तानमा समेत चर्चामा छन्।
पाकिस्तानी फ्यानले अर्शदीपलाई ‘भारतको हसन अली’ भएको बताएका छन्।
ट्विटरमा अर्शदीप सिंहसँग आफ्ना क्रिकेटर हसन अलीको तस्बिर पोस्ट गर्दै क्याप्सन लेखेका छन्-‘ब्रदर फ्रम अनोदर मदर।’
यसअघि पाकिस्तानका हसन अली पनि भारतसँगको खेलमा पराजित भएसँगै पाकिस्तानी समर्थकको निशानामा परेका थिए।
भारतीय क्रिकेट टिमका पूर्व कप्तान विराट कोहलीले पनि अर्शदीप सिंहको बचाउ गरेका छन्। कोहलीले भने, ‘प्रेसरमा जो कोहीले गल्ती गर्नसक्छ। हामीले त्यो सबै गरेका छौं। यो ठूलो खेल थियो। मैले च्याम्पियन्स ट्रफीमा पाकिस्तानसँग पहिलो खेल खेलेको थिएँ र निकै नराम्रो खेलेँ। पाँच बजेसम्म निद्रा लागेन। मैले फेरि मौका पाउछु जस्तो लागेको थिएन। त्यसैले यो सबैसँग हुन्छ।’
भारतका पूर्व स्पिनर हरभजन सिंह अर्शदीपको बचाउमा आएका छन्। उनले ट्वीट गर्दै भनेका छन्- ‘युवा खेलाडी अर्शदीप सिंहको विरोध नगर्नुहोस्। कुनै पनि क्याच जानाजान छोडिएको हुन्न। हामी भारतीय खेलाडीहरूमाथि गर्व गर्छौं। पाकिस्तानले हामीभन्दा राम्रो खेलेको छ। अर्श र टोलीको बारेमा भनिएको नराम्रो कुरा लाजमर्दो छ।’
अर्शदीपको बचाउ गर्दै पूर्व क्रिकेटर अभिनव मुकुन्दले भनेका छन्, ‘पुणे टेस्टमा स्टिभ स्मिथको क्याच छोडेपछि म आफ्नो कोठामा घण्टौंसम्म शोकमा थिएँ। मलाई आशा छ कि अर्शदीपले त्यस्तो महसुस गरेका छैनन्। आज राती उनी हाम्रो देशमा सबैभन्दा बढी दुखी छन्। उनको भारी हृदयलाई अलिकति हल्का गरौं!’
पाकिस्तानका पूर्व क्रिकेट कप्तान मोहम्मद हफिजले ट्वीट गर्दै अर्शदीपको बचाउ गरेका छन्। हाफिजले आफ्नो ट्विटमा लेखेका छन्, ‘म भारतीय टोलीका सबै फ्यानहरूलाई अनुरोध गर्छु कि हामी सबैले खेलमा गल्ती गर्छौं। हामी सबै मानव हौं। कृपया यी गल्तीहरूको लागि कसैलाई अपमान नगर्नुहोस्।’