आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत गत मार्च २१ मा युएईसँग खेलेर स्वदेश फर्किएपछि ज्ञानेन्द्र मल्ल नेपाली टिमको बन्द प्रशिक्षणमा पर्न सकेनन्। क्यानले लगातार तीन सिजनमा ज्ञानेन्द्रलाई टिममा स्थान दिएन।
युएईसँगको मार्च २१ को खेलमा ज्ञानेन्द्र ३० रनमा आउट भएका थिए। नेपाल १०३ मा अलआउट भएपछि ९९ रनले पराजित भएको सो खेलमा ज्ञानेन्द्र नै नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी थिए।
खेलाडीको पक्षमा आवाज उठाएकै कारण कारबाहीमा परेका ज्ञानेन्द्र र नेपाल क्रिकेट संघ (क्यान) बीचको सम्बन्ध त्यतिबेला सुमधुर नभएको आम क्रिकेटप्रेमीलाई थहा भएकै विषय हो।
कप्तानी खोसिएपछि क्यानले बोलाउदा पनि ज्ञानेन्द्र टिममा नगएको भनेर कतिपयले हल्ला समेत चलाएका थिए। तर ज्ञानेन्द्रले अन्तर्वार्तामा आफूले कहिल्यै त्यस्तो नबोलेको र टिमले चाहेको अवस्थामा जतिबेला पनि उपलब्ध हुने भनेर स्पष्टिकरण समेत दिन परेको थियो।
अमेरिका, क्यानडा र स्कटल्यान्ड भ्रमणका दौरान नेपाली टिममा अनुभवी खेलाडीको अभाव खड्किएको थियो। जसका कारण नेपालले लक्ष्यअनुरूप जित निकाल्न सकेन।
टिमबाट बाहिर रहेको करिब ६ महिनापछि नेपाली टिमले पूर्वकप्तान ज्ञानेन्द्रको अभाव महसुस गर्यो। केन्याविरूद्धको पाँच खेलको टी-२० सिरिज र तीन खेलको एकदिवसीय सिरिजका लागि टिममा स्थान दियो।
ज्ञानेन्द्रले केन्या भ्रमणका दौरान नेपालले खेलेका आठै खेल खेले। उनले दुई खेलबाहेक अरु खेलमा दोहोरो अंकमा रन बटुल्न सफल भए।
टी-२० सिरिजको पहिलो खेलमा २३ रन जोडेका ज्ञानेन्द्र दोस्रो खेलमा १ रनमै आउट भएका थिए। तेस्रो खेलमा उनले ४६ रन जोडे। चौथो खेलमा भने उनी ६ रनमै आउट भए। केन्याविरुद्धको अन्तिम टी-२० मा ज्ञानेन्द्रले ५९ रन जोडेका थिए।
पाँचौ तथा निर्णायक खेलमा ज्ञानेन्द्रको अर्धशतकसँग नेपालले सिरिज ३-२ ले जितेको थियो। ज्ञानेन्द्रले खराब ब्याटिङ गरेका दुवै खेलमा नेपाल पराजित भएको थियो।
ज्ञानेन्द्र तेस्रो र पाँचौ खेलमा प्लेयर अफ दि म्याच समेत घोषित भए।
टी-२० सिरिजमा ज्ञानेन्द्र सर्वाधिक रन बनाउने खेलाडीको तेस्रो स्थानमा रहे। उनले एक अर्धशतकसहित १३५ रन जोडे। टी-२० सिरिजका पाँच खेलमा उनले १२ चौका र ३ छक्का हिर्काउन सफल भए।
त्यसपछि भएको एकदिवसीय सिरिजमा पनि ज्ञानेन्द्रको प्रदर्शन ठिकठाक रह्यो। उनले पहिलो खेलमा २३ रन जोड्दा, दोस्रोमा २५ रन र तेस्रो खेलमा ३३ रनको योगदान गरे। सिरिजमा नेपाल ३-० ले विजयी भयो।
यसरी ज्ञानेन्द्रले आफ्नो अनुभव प्रदर्शन गर्दै टिममा आफ्नो स्थान अझै पनि रहेको प्रमाणित गरे। ज्ञानेन्द्रको तुलनामा मध्यक्रममा रोहितकुमार पौडेलबाहेक अन्यको ब्याटिङ राम्रो हुन सकेन। यसले पनि ज्ञानेन्द्रको स्थान लिन युवा ब्याट्सम्यासलाई समय लाग्ने देखियो।
सिरिजका लागि ज्ञानेन्द्रले आफ्नो पुरानो जर्सी नम्बर ११ छाडेर २२ रोजेका थिए। उनले जर्सी परिवर्तन गर्नुको कारण नयाँ सुरुवात गर्न भनेका छन्।
सिरिजमा ज्ञानेन्द्रपछि चर्चामा रहेका खेलाडी हुन्, अर्जुन साउद। विकेटकिपर ब्याट्सम्यान साउदले राष्ट्रिय टिममा डेब्यूका लागि भने दुई खेल कुर्न पर्यो।
दोस्रो खेलमा नेपाली ब्याट्सम्यानको खराब ब्याटिङपछि १९ वर्षीय अर्जुनले केन्याविरूद्धको तेस्रो खेलमा डेब्यूको अवसर पाएका थिए।
डेब्यू खेलमा नै अर्जुनले सबैको ध्यान खिँच्न सफल भए। पवन सर्राफसँग मिलेर ओपनिङ गरेका साउदले डेब्यू खेलमा ३५ रन जोडे। उनले ३१ बल खेल्दा २ चौका र ३ छक्का हिर्काएका थिए।
त्यस पछिका खेलमा भने उनले लगातार टिममा स्थान बनाउन सफल भए। उनले चौथो टी-२० मा ६ रन मात्र जोड्न सकेका थिए। पाँचौमा २९ रन जोडे।
टी-२० सिरिजमा प्रभावशाली खेल देखाएपछि अर्जुन एकदिवसीय सिरिजका तीनै खेलमा विकेटकिपर तथा ओपनरको भूमीकामा टिममा रहे। जसमा उनले दुई अर्धशतक हिर्काउन सफल भए।
पहिलो एकदिवसीय खेलमा अर्जुनले ६१ रन बनाएका थिए भने दुई क्याच लिएका थिए। दोस्रोमा पाँच रनमै आउट भएका अर्जुनले १ क्यान लिन सफल भए। तेस्रो टी-२० मा ५८ रन जोडेर अर्जुनले केन्या भ्रमणलाई यादगार बनाउन सफल भए।
केन्या भ्रमणमा आत्मविश्वासका साथ गरेको ब्याटिङले आगामी प्रतियोगिताका लागि उनले टिममा आफ्नो स्थान बनाएका छन् भने नेपालले अर्का प्रतिभाशाली ओपनर तथा विकेटकिपर पाएको छ।