भारतीय पूर्वब्याट्सम्यान सुरेश रैनाले भारतको घरेलु क्रिकेटबाट बिदा लिएका छन्। मंगलबार उनले ‘क्रिकेटका सबै ढाँचाबाट’ संन्यासको घोषणा गरेका हुन्।
३५ वर्षीय रैनाले यसअघि नै अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिइसकेका थिए, महेन्द्रसिंह धोनीले संन्यास लिएको केही समयपछि अगस्ट १५, २०२० मा उनले संन्यासको घोषणा गरेका थिए।
यससँगै उनलाई विदेशी लिग खेल्नका लागि कुनै बाधा हुनेछैन। उनले यसअघि अझै एक दुई वर्ष क्रिकेट खेल्ने बताएका थिए। भारतले आफ्नो घरेलु क्रिकेट खेल्ने खेलाडीलाई विदेशी लिग खेल्न अनुमति दिने गरेको छैन।
दक्षिण अफ्रिका, श्रीलंका र युएईका टी-२० फ्रेन्चाइज टिमले उनलाई सम्पर्क गरेको बताइएको छ।
रैनाले २०१८ देखि कुनै पनि फर्स्ट क्लास वा लिस्ट ए क्रिकेट खेलेका छैनन्, र उनको अन्तिम आइपिएल खेल अक्टोबर २०२१ मा थियो।
रैना चेन्नई सुपर किंग्सका लागि महत्वपूर्ण खेलाडी थिए, जसलाई उनले २००८ देखि २०२१ सम्म ११ सिजन प्रतिनिधित्व गरेका थिए। २०१०, २०११, १०१८ र २०२१ मा चेन्नईले उपाधि जित्दा उनी टिमका महत्वपूर्ण खेलाडी थिए।
उनले चेन्नईबाट १७६ खेलमा ४ हजार ६ सय बनाएका थिए। उनलाई चेन्नई सुपर किंग्सले २०२२को अक्सनअघि रिलिज गरेको थियो। तर उनी अक्सनमा बिक्न सकेनन्।
रैनाले १०९ प्रथम श्रेणी खेलमा ६८७१ रन, ३०२ लिस्ट ए खेलमा ८०७८ रन र ३३६ टी–२० खेलमा ८६५४ रन बनाएका छन्।
सन् २००५ मा अन्तर्राष्ट्रिय डेब्यू गरेका रैनाले भारतको लागि २२६ एकदिवसीय, ७८ टी-२० आइ र १८ टेस्ट खेले।
सन् २०११ मा भारतले एकदिवसीय विश्वकप जित्दा उनी टिममा थिए। उनी तीनै फर्म्याटमा शतक बनाउने पहिलो भारतीय ब्याट्सम्यान थिए।