नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटको प्रतिस्पर्धामा गैरआवासीय नेपालीको टिम एनआरएनए एकेडेमीले विजयी सुरुवात गरेको छ। आगामी महिना नवौंका अरु प्रतियोगिता हुने भए पनि क्रिकेट भने नेपाल टी-२० लिगका कारण अहिले गरिएको हो।
कीर्तिपुर मैदान गिलो भएका कारण ६ ओभरमा घटाइएको खेलमा एनआरएनएले सुदुरपश्चिमलाई १२ रनले पराजित गर्यो।
पहिले ब्याटिङ गरेको एनआरएनएले ६ ओभरमा ४ विकेटको क्षतिमा ७४ रन जोड्यो।
उसका लागि सागर पुनले १९ बलमा ३ छक्का र ३ चौकासहित नटआउट ४६ रन जोडे। कप्तान सुनाम गौतमले ११ बलमा ३ चौका र १ छक्काको मद्दतमा २४ रनको योगदान गरे।
बलिङमा सूदुरपश्चिमका हेमन्त धामी र शेर मल्लले २-२ विकेट लिए।
७५ रनको लक्ष्य पछ्याएको सूदुरपश्चिमले ६ विकेटको क्षतिमा ६२ रन मात्र जोड्न सक्यो। ओपनर खडक बोहारले १० बलमा १२ रन, कप्तान राजु रिजालले ११ रन र बसन्त खत्रीले १० रन जोड्दा अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन बटुल्न नपाइ आउट भए।
बलिङमा एनआरएनएका आसिष पोख्रेल र दीपक क्षेत्रीले ३-३ विकेट लिए।
यता वर्षाका कारण मुलपानीमा तय भएका मधेश प्रदेश र गण्डकी तथा लुम्बिनी र कर्णालीबीचको खेल रद्द भएका छन्।
यस्तै कीर्तिपुरमा तय भएको बागमति र प्रदेश एकबीचको दोस्रो खेलमा पनि बर्षाका कारण टसमा ढिलाइ भएको छ।