आगामी असोज दोस्रो सातादेखि हुने पहिलो संस्करणको नेपाल टी-२० लिगमा सहभागी हुने दुई टिम सार्वजनिक गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले यसअघि चार टिम घोषणा गरे पनि दुई टिम घोषणा हुन बाँकी थियो।
आज घोषणा भएका दुई टिममा पोखरा एभेन्जर्स र फारवेस्टर्न युनाइटेड छन्।
पोखराको स्वामित्व पोस्टराज ज्ञावली, अतिस ज्ञावली र सुबोध त्रिपाठीले लिएका छन्। यस्तै फारवेस्टर्नको स्वामित्व बेलायतको एसआर स्पोर्ट्स एन्ड मिडिया भेन्चरका रुपिन्दर बागाले लिएका छन्।
यसअघि गत महिना कान्तिपुर क्यापिटल्स, लुम्बिनी अल स्टार्स, विराटनगर सुपरकिंग्स र जनकपुर रोयल्स सार्वजनिक गरिएको थियो।
आगामी असोज ८ गतेदेखि कात्तिक ५ सम्म नेपाल टी-२० लिग काठमाडौंमा हुँदैछ। जसमा नेपाली खेलाडीले तीन श्रेणीका आधारमा तलब पाउनेछन्। पहिलो श्रेणीका खेलाडीलाई १५ लाख, दोस्रोलाई १० र तेस्रोलाई ५ लाख दिने क्यानको भनाइ छ।
लिगका लागि खेलाडी छनोट गर्न क्यानले अनलाइन दर्ता खुलाएको थियो। जहाँ ड्राफ्टमार्फत खेलाडी छनोट हुनेछ। एक हजार बढी खेलाडीले अनलाइन दर्ता गराएको क्यानको भनाइ छ।