भारतीय ब्याट्सम्यान विराट कोहलीले आफ्नो करिअरको ७१औं अन्तर्राष्ट्रिय शतक प्रहार गरेका छन्। उनलाई ७१औं शतक प्रहार गर्न लगभग तीन वर्ष कुर्नपर्यो।
कोहलीले बिहीबार एसिया कप खेलमा अफगानिस्तानविरुद्ध दुबईमा शतक प्रहार गरेका हुन्।
नोभेम्बर २०१९ पछि कोहलीले शतक प्रहार गरेका हुन्। यसअघि एकदिवसीय र टेस्टमा शतक हिर्काएका कोलहीको यो पहिलो टी-२० अन्तर्राष्ट्रिय शतक हो।
रोहित शर्मालाई आराम दिएपछि कोहलीले केएल राहुलसँग ओपनिङ गरेका थिए।
कोहलीले टी-२० मा ३२ अर्धशतक प्रहार गरे पनि पहिलो पटक शतक हिर्काउन सफल भए। उनले ५३ बलमा शतक पूरा गरेका थिए।
खेलमा उनले टी-२०मा ३५ सय पूरा गर्दा टी-२० करिअरको सय छक्का पनि पूरा गरे।
कोहलीले बहुप्रतिक्षित ७१ औं अन्तर्राष्ट्रिय शतक पूरा गर्दा रिकी पोन्टिङको कीर्तिमानसँग बराबरी गरे।
अब कोहली र पोन्टिङ ७१ अन्तर्राष्ट्रिय शतक बनाएर सर्वाधिक शतक बनाउने खेलाडीको दोस्रो स्थानमा रहेका छन्। सर्वाधिक शतक बनाएका सचिन तेन्दुल्करले सय शतक बनाएका थिए।
बिहीबारको खेलमा कोहलीले ६१ बलमा १२२ रन बनाउदा भारतले पहिले ब्याटिङ गर्दै २ विकेटको क्षतिमा २१२ रन जोड्यो। यो जारी प्रतियोगिताको अहिलेसम्मकै उच्च स्कोर हो।