अस्ट्रेलियाका पूर्वक्रिकेटर ब्रेट ली नेपाल टी-२० लिगको मेन्टर नियुक्त भएका छन्।
बिहीबार साँझ नेपाल आइपुगेका लीलाई नेपाल टी-२० लिगले शुक्रबार पत्रकार सम्मेलनमार्फत् मेन्टर नियुक्त गरेको जनाएको हो।
आगामी असोज दोस्रो सातादेखि हुने पहिलो संस्करणको नेपाल टी-२० लिगमा छ टिमबीच प्रतिस्पर्धा हुँदैछ।
लिगमा पोखरा एभेन्जर्स, फारवेस्टर्न युनाइटेड, क्यापिटल्स, लुम्बिनी अल स्टार्स, विराटनगर सुपरकिंग्स र जनकपुर रोयल्सबीच प्रतिस्पर्धा हुनेछ।
क्यानले प्रतियोगिताको आयोजना अधिकार भारतको सेभेन थ्री स्पोर्ट्सको जिम्मा दिएको छ।
आगामी असोज ८ गतेदेखि कात्तिक ५ सम्म नेपाल टी-२० लिग काठमाडौंमा हुँदैछ। जसमा नेपाली खेलाडीले तीन श्रेणीका आधारमा तलब पाउनेछन्। पहिलो श्रेणीका खेलाडीलाई १५ लाख, दोस्रोलाई १० र तेस्रोलाई ५ लाख दिने क्यानको भनाइ छ।
लिगका लागि खेलाडी छनोट गर्न क्यानले अनलाइन दर्ता खुलाएको थियो। जहाँ ड्राफ्टमार्फत खेलाडी छनोट हुनेछ। एक हजार बढी खेलाडीले अनलाइन दर्ता गराएको क्यानको भनाइ छ।