नवौं राष्ट्रिय खेलकुअन्तर्गत पुरुष क्रिकेटको प्रतिस्पर्धालाई वर्षाले असर गरेको छ। बिहीबारदेखि सुरु भएको प्रतिस्पर्धामा शुक्रबारसम्ममा आठै खेल प्रभावित भइसकेका छन्।
मुलपानीमा तय भएका बिहीबारका दुई खेल र शुक्रबारका दुई गरी चार खेल टस नै नभइ रद्द भएका छन्।
मुलपानीमा बिहीबार मधेश र गण्डकी तथा लुम्बिनी र कर्णालीबीच खेल तय थियो। शुक्रबार नेपाल पुलिस र मधेश तथा त्रिभुवन आर्मी र कर्णालीबीचको खेल पनि मैदानमा पानी जमेका कारण सम्भव हुन सकेन।
यस्तै कीर्तिपुरमा बिहीबार भएको उद्घाटन खेल वर्षाका कारण ६ ओभरमा झारिएको थियो। जसमा एनआरएनएले सुदूरपश्चिमलाई १२ रनले हरायो। बिहीबार कीर्तिपुरमा तय भएको बागमति र प्रदेश एकबीचको दोस्रो खेल पनि वर्षाले स्थगित भयो।
कीर्तिपुरमा तय भएको शुक्रबारका दुवै खेल पनि वर्षाले प्रभावित भयो। मैदानमा पानी जम्दा खेल रद्द गरियो।
शुक्रबार पहिलो खेलमा एआरएनएले एफिएफविरुद्ध १३.३ ओभरमा २ विकेटको क्षतिमा १२० रन जोड्दा खेल वर्षाले रोकियो। त्यसपछि खेल हुन सकेन। १९ ओभरमा घटाइएको खेलमा एनआरएनका कप्तान सुनाम गौतमले ३५ बलमा ४५ रन बनाएर खेलिरहेका थिए।
कीर्तिपुरमा तय भएको सुदूरपश्चिम र बागमतिबीच तय भएको दोस्रो खेल पनि मैदानमा पानी जम्दा टस नै नभइ रद्द भयो।