क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले प्रदान गर्ने वर्षको उत्कृष्ट खेलाडीको अवार्ड दीपेन्द्रसिंह ऐरी र सीता रानामगरले जितेका छन्।
एनसिसिएसको प्रायोजनमा शुक्रबार भएको अवार्डमा दीपेन्द्र पुरुषतर्फ र सीता महिलातर्फ उत्कृष्ट खेलाडी चुनिएका हुन्।
इमर्जिङ प्लेयरको अवार्ड देव खनालले पाएका छन् भने अस्मिना कर्माचार्यले मोमेन्ट अफ दि इयरको अवार्ड पाइन्।
स्पेशल अवार्ड पूर्व कप्तान पारस खड्काले पाए।
वर्षको महिला र पुरुष खेलाडीले १ लाख ३२ हजार रुपैयाँ प्राप्त गरे। उदयीमान र वर्षको उत्कृष्ट क्षणले ६६ हजार रूपैयाँ पाउदा विशेष अवार्डलाई १ लाख ३२ हजार रूपैयाँ दिइयो।
प्राविधिक समितिले तोकिएको मापदण्डका आधारमा सिफारिस गरेका खेलाडीहरूलाई अवार्ड दिइएको हो।
उत्कृष्ट क्षण अनलाइन भोटिङको आधारमा चुनियो। नेपाली क्रिकेटमा विशेष योगदान पुऱ्याएका पारसलाई स्पेशल अवार्ड प्रदान गरियो।