युएईमा जारी एसिया कप अन्तर्ग सुपर चारको अन्तिम खेलमा श्रीलंकाले पाकिस्तानलाई पाँच विकेटले हराएको छ।
योसँगै श्रीलंका सुपर फोरमा तीन खेलमा अपराजित रहँदै शीर्ष स्थानका साथ फाइनल खेल्ने भएको छ। पराजित पाकिस्तानले दोस्रो स्थानमा रहँदै फाइनल खेल्ने भएको हो।
जितको लागि १ सय २२ रनको मध्यम लक्ष्य पछ्याएको श्रीलंकाले १७ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो। श्रीलंकाका लागि पाथुम निसंकाले सर्वाधिक ५५ रन बनाए।
यस्तै कुशल मेन्डिस र गुनाथिलका डक आउट हुँदा भानुका राजपक्षेले २४ रन बनाए। कप्तान दासुन शनकाले २१ रन जोड्दा धनन्जय डि सिल्भा ९ र वानिन्दु हसरंगाले १० रन बनाए ।
पाकिस्तानका मोहम्मद हसनैन र हरिस रौफले २-२ विकेट लिए। यस्तै उस्मान कादिरले एक विकेट हात पारे।
त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियमा टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले १९.१ ओभरमा अलआउट हुँदै १ सय २१ रन बनायो। उसका लागि बाबर आजमले सर्वाधिक ३० रन बनाए।
मोहम्मद नवाजले २६ रन बनाउँदा ओपनर मोहम्मद रिजवान १४, फखार जमान र इफ्तिखर अहमद समान १३–१३ रन बनाए।
श्रीलंकाका वानिन्दु हसरंगाले सर्वाधिक ३ विकेट लिए। मेहश थिक्सना र प्रमोद मदुशानले २-२ विकेट लिए।
आइतबार उपाधिको लागि श्रीलंकाले पुनःकै सामना गर्नेछ। भारत र अफगानिस्तान भने सुपर फोरबाटै बाहिरिएका थिए।
श्रीलंकाले सुपर फोरमा भारतलाई ६ विकेट र अफगानिस्तानलाई ४ विकेटले पराजित गरेको थियो। पाकिस्तानले भारतलाई ५ विकेट र अफगानिस्तानलाई एक विकेटले हराएको थियो।