मोरङको पथरी शनिश्चरेमा तेस्रो पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेटको शनिबार अक्सन सम्पन्न भएको छ।
अक्सनबाट ८ क्लवले ११४ जना खेलाडी अनुवन्ध गरेका छन्। अधिल्लो प्रिमियर लिगमा सहभागी शनिश्चरे स्ट्राइकले लिगबाट बाहिरीने निर्णय गरेपछि नयाँ क्लवका रूपमा आइतबारे अस्त्रले पहिलो पटक सहभागिता जनाउन लागेको हो।
तेस्रो संस्करणमा वुद्ध युनाइटेडले सुदिप चौधरीलाई ८ हजार २ सय रूपयाँमा अनुबन्धन गर्यो। उनी तेस्रो संस्करणका महँगा खेलाडी बने।
आइतबारे अस्त्रले आर्दश कार्कीलाई ७ हजार ४ सय मोल लगाउँदा रोयल किङ्गले पावेल राईलाई ६ हजारमा अनुबन्धन गर्यो।
हसन्दहले सोलोमोन राईलाई ५ हजार ८ सय, विरेन्द्रनगरले पशुपति दाहाललाई ५ हजार ६ सय, सात बाघले निधित राईलाई ५हजार ४ सयमा, मंगलवारे लिजेन्डले अभिषेक विकलाई ५ हजार २ सय र हिसाव कितावले धराम सिंहलाई ३ हजार ८ सयमा अनुबन्धन गरेको छ।
१ हजार आधार मुल्य राखेर अक्सन गरिएको थियो ।
लिगका लागि वुद्ध युनाइटेड, विरेन्द्रनगर, रोयल किङ्ग, सात वाघले १५ जना खेलाडी खरिद गर्दा आइतबारे, हिसाव किताव र हसन्दहले १४ खेलाडी किन्न सफल भए। मंगलवारेले १२ खेलाडी आफ्नो पक्षमा पार्न सक्यो।
अक्सनका लागि हरेक टोलीलाई ४० हजार जम्मा ‘वालेट’ राखिएको थियो ।
खेलाडीलाई ए, बी ,सि र अन्डर सिक्टीन वर्गमा विभाजित गरि अक्सन गरिएको थियो।
लिगमा बुद्ध युनाइटेड, हिसावकिताव ट्रेर्डस, रोयल किङ, मंगलवारे लिजेण्ड, सात वाघ, विरेन्द्रनगर स्टील टाइगर, क्लासिक हसन्दह, आइतवारे अस्त्र टिमको सहभागीता रहने छ ।
पथरीशनिश्चरे नगरभित्रका क्रिकेट खेलाडीको खेल स्तरवृद्धि गर्न र नगरभित्रबाट क्रिकेट प्रतिभा खोज्न सुरू गरिएको लिगको यो तेस्रो संस्करण हो।
अघिल्ला दुई संस्करणमा पहिलो रोयल किङ्स र दोस्रो सात वाघले उपाधि जित्न सफल भएका थिए ।
पहिलो संस्करणमा उपविजेतामा चित्त वुझाएको सातवाघ दोस्रो संस्करणमा मंगलवारे लिजेन्डलाई हराउदै विजेता बनेको थियो। लिग असोज २२ देखि कात्तिक ६ सम्म सञ्चालन हुनेछ।