असोज ८ गतेदेखि कात्तिक ५ सम्म काठमाडौंमा गर्ने भनिएको नेपाल टी-२० लिग अन्तिम समयमा आएर स्थगित भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई आयोजना अधिकार दिएको लिगको गभर्निङ काउन्सिलको अध्यक्ष क्यानका कार्यबाहक सचिव प्रशान्त मल्ल छन्।
मल्लले बुधबार राति विज्ञप्तिमार्फत् नेपाल टी-२० लिग स्थगित गरेको जनाएका छन्। गृह मन्त्रालयले पठाएको पत्र पनि विज्ञप्तिसँगै पठाइएको छ। जसमा क्यानले सुरक्षा मागेकोमा निर्वाचनका कारण सुरक्षा दिन नसकिने र लिग स्थगित गर्न अनुरोध गरिएको छ।
तर क्यान स्रोतका अनुसार लिगका फ्रेन्चाइज टिम सम्बन्धि आन्तरिक विवाद, विदेशी खेलाडी भित्र्याए पनि नेपाल ल्याउनका लागि पूरा गर्ने पर्ने प्रक्रिया लगायतका तयारी नपुग्दा लिग स्थगित भएको हो।
अब लिग मंसिर अन्तिम सातादेखि गर्ने प्रस्ताव गरिएको छ।
प्रतियोगितामा ६ टिमले भाग लिने तय भएको थियो। त्यसका लागि टिमहरूले ड्राफ्टमार्फत खेलाडी भित्र्याएका थिए।
यसअघि बिना प्रतिस्पर्धा भारतीय कम्पनीलाई आयोजनाको अधिकार दिएको भन्दै लिग विवादित बनेको थियो। विवाद बढ्दै जाँदा एभरेस्ट प्रिमियर लिगका संस्थापक अमिर अख्तरले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए। सो मुद्दा विचारधिन अवस्थामा छ।