एसोसियट क्रिकेटमा सफल अलराउन्डर रोहन मुस्तफा आगामी महिना अष्ट्रेलिया हुने टी-२० विश्वकपको लागि युएईको टोलीबाहिर भएका छन्।
युएई क्रिकेट बोर्डले टी-२० विश्वकपको लागि छनोट गरेको अन्तिम १५ सदस्य टोलीमा सर्वाधिक सफल अराउन्डर मुस्तफा अटाएनन्।
युएईका सर्वाधिक सफल अलराउन्डर मुस्तफाले युएईबाट हालसम्म ५५ टी-२० आई खेलमा ९८४ रन बनाएका छन्। जसमा चार अर्धसतक सामेल छन्। उनी युएईका लागि सर्वाधिक रन बनाउने ब्याटर हुन्।
यस्तै ६१ विकेट लिएका उनी सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा शीर्ष स्थानमा छन्। युएईका अन्य बलर निकै तल छन्।
यस्तै ५४ ओडिआई खेलमा मुस्तफाले ५६ विकेट लिनुका साथै ११०७ रन बनाएका छन्। ओडिआईमा मुस्तफाले १ शतक र ५ अर्धशतक प्रहार गरेका छन्।
यस्तै युएईले कप्तान अहमद राजालाई हटाएर सिपी रिजवानलाई जिम्मेवारी दिएको छ। युवा विकेटकिपर वृत्त अरविन्दले उपकप्तानको जिम्मेवारी पाएका छन् ।
युएईले विश्वकपअघि बंगलादेशसँग २५ र २७ सेप्टेम्बरमा दुई टी २० आई खेल खेल्नेछ। वार्मअप खेलमा युएईले वेस्टइन्डिजसँग १० अक्टोबर र १३ अक्टोबरमा स्कटल्यान्डसँग खेल्नेछ। यूएई विश्वकपमा पहिलो चरणको समूह ए मा छ ।
समूह ए मा श्रीलंका, युएई, नामिबिया र नेदरल्यान्ड्स छन्। शीर्ष दुई टोलीले सुपर १२ प्रवेश पाउनेछन्। युएईले विश्वकपमा पहिलो खेल १६ अक्टोबरमा नेदरल्यान्ड्ससँग खेल्नेछ। १८ अक्टोबरमा श्रीलंका र २० अक्टोबरमा नेदरल्यान्ड्सँग खेल्नेछ ।
युएईको विश्वपक टोली :
सिपी रिजवान (कप्तान), वृत्त अरविन्द (उपकप्तान विकेटकिपर), चिराग सुरी, मोहम्मद वासिम, बासिल हामिद, अर्यान लर्कान, जवार फरिद, काशिफ दाउद, कार्तिक मियाप्पन, अहमद राजा, जहुरु खान, जुनैद सिद्दिक, सबिर अली, अलिशान शरिफुल र अयान खान ।