घरेलु टोली पाकिस्तानले इंग्ल्यान्डविरुद्धको टी-ट्वान्टी अन्तर्राष्ट्रिय ३-२ को अग्रता बनाएको छ।
बुधबार राति भएको पाँचौ खेलमा पाकिस्तानले इंग्ल्यान्डमाथि ६ रनको रोमाञ्चक जित निकालेको हो। यो जितसँगै पाकिस्तानले ७ खेलको सिरिजमा ३-२ को अग्रता बनाएको हो।
पाकिस्तानले दिएको १ सय ४६ रनको मध्यम लक्ष्य पछ्याएको इंग्ल्यान्ड २० ओभरमा ७ विकेट गुमाएर १ सय ३९ रनमा समेटियो।
इंग्ल्यान्डका लागि कप्तान मोइन अलीले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ खेले पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। डाविड मालनले ३६ तथा साम करणले थप १७ रन जोडेका थिए।
अन्य कुनै पनि ब्याटरले खुलेर प्रदर्शन गर्न सकेनन्।
पाकिस्तानका हरिस राउफले २ विकेट लिए। सबै बलरले विकेट लिएको खेलमा मोहम्मद नवाज, मोहम्मद वासिम, सादव खान, इफ्तिखर अहमद र आमेर जमालले १-१ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १९ ओभरमा अलआउट हुँदै १ सय ४५ रन बनाएको थियो।
उसका लागि मोहमद रिजवानले सर्वाधिक ६३ रनको अर्धशतकीय इनिङ खेले। इफ्तिखर अहमदले १५ रन जोड्दा आमेर जमालले १० रन जोडे। बाँकी कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
इंग्ल्यान्डका लागि मार्क उडले सर्वाधिक ३ तथा डेविड विलि र साम करणले २-२ विकेट लिए। क्रिश वक्सले १ विकेट हात पारे।
यसअघि पहिलो खेलमा इङ्ल्याण्ड ६ विकेटले विजयी हुँदा दोस्रो खेलमा पाकिस्तानले १० विकेटले हराउँदै सिरिज १-१ को बराबरीमा ल्याएको थियो।
तेस्रो खेलमा ६३ रनले इङ्ल्याण्ड विजयी हुँदा चौथो खेलमा ३ रनले पाकिस्तान विजयी भएको थियो।
अब छैठौं खेल भोलि लाहोरमा हुनेछ।