नेपाल क्रिकेट संघ (क्यान) को बुधबार बसेको बोर्ड बैठकमा अध्यक्ष चतुरबहादुर चन्दलाई पाँच जना केन्द्रीय सदस्यहरूले प्रश्नैप्रश्न गरेका छन्।
लामो समयपछि बसेको बोर्ड बैठकमा केन्द्रीय सदस्यहरूले क्यानको कार्यसम्पादन समितिले गरेका निर्णयको विषयमा अध्यक्ष चन्दलाई प्रश्नैप्रश्न गरेका हुन्।
अध्यक्ष चन्द, कोषाध्यक्ष रोशन सिंह, कार्यबहाक सचिव प्रशान्त मल्लसहितको कार्यसम्पादन समितिले पछिल्लो समय विभिन्न निर्णय गर्दै आएको छ।
तत्कालीन उपाध्यक्ष राजुबाबु श्रेष्ठ र तत्कालीन सचिव अशोकनाथ प्याकुरेल कार्यसम्पादन समितिमा रहँदा भने खासै निर्णय भएका थिएनन्। तर श्रेष्ठ र प्याकुरेलले राजीनामा दिएपछि बनेको नयाँ कार्यसम्पादन समितिले भने लगातार निर्णय गरिरहेको छ।
बुधबारको बैठकमा व्यवस्थापक नियुक्तिदेखि लिएर प्रतियोगिता सञ्चालनका लागि कार्यसम्पादन समितिले गरेका निर्णय, २०२३ को वार्षिक क्यालेन्डर, अडिट रिपोर्ट, क्रिकेट सामग्री खरिद र विविधसहित पाँच वटा एजेन्डा थियो।
केन्द्रीय सदस्यहरू संजयराज सिंह, दाउद अन्सारी, ऋषिराम गौतम, धर्मराज गिरी र छुम्बी लामाले कार्यसम्पादन समितिका निर्णयमाथि लगातार प्रश्न उठाएका थिए। पाँच जना केन्द्रीय सदस्यले प्रश्न गरिरहँदा अध्यक्ष चन्दले स्पष्ट जवाफ दिन नसकेको केन्द्रीय सदस्य अन्सारी बताउँछन्।
विगत एक वर्षको बीचमा नियुक्त भएका चार जना व्यवस्थापकको जिम्मेवारीको विषयमा केन्द्रीय सदस्य संजयराज सिंहले प्रश्न गरेका थिए।
भदौ पहिलो साता केन्या जानुअघि नेपाली टिमको व्यवस्थापन गर्न सुनिल महासेठलाई नियुक्त गरिएको थियो।
महासेठले नेपाली टिम केन्याबाट फर्किएपछि सन्दीप लामिछानेमाथिको अभियोग र बन्द प्रशिक्षणकै दौरान उनी टिमलाई छोडेर अर्कै होटलमा बसेको विषयमा आफूलाई थाहै नभएको बताएका थिए।
यो विषयमा क्यानले अहिलेसम्म छानबिन समिति गठन नगरेकोमा केन्द्रीय सदस्यले विरोध गरेका थिए।
'बन्द प्रशिक्षणका दौरान भएको यो घटनाको विषयमा छानबिन गर्नुपर्छ भनेर आवाज उठायौं। तर हामीले चित्तबुझ्दो जवाफ पाउन सकेनौं,' अन्सारीले भने।
त्यसअघि साउन पहिलो साता नेपाली राष्ट्रिय क्रिकेट टिम आइसिसी विश्वकप लिग-२ खेलेर स्कटल्यान्ड भ्रमणबाट नेपाल फर्किंदा साथमा व्यवस्थापक वीरेन्द्र चन्द नभएको विषयमा उनीहरूले अध्यक्षसँग जवाफ माग गरेका थिए। चन्द नेपाली टिमलाई छाडेर लन्डनतर्फ गएका थिए।
यस्तै, अमेरिकामा भएको आइसिसी विश्वकप लिग-२ को टिमको लिडर नियुक्त पदमबहादुर खड्का नेपाली टिमले टेक्सासमा अभ्यास खेल खेलिरहँदा न्युयोर्कमा रहेको विषयमा पनि केन्द्रीय सदस्यले जवाफ मागेका थिए।
'कार्यसम्पादन समितिले नियुक्त गरेका व्यवस्थापकको काम चित्तबुझ्दो छैन। यस विषयमा अध्यक्षज्यूलाई किन छानबिन गर्नुभयो भनेर जवाफ माग गर्दा उहाँ आलटाल गर्न खोज्नु भयो,' सिंहले भने।
अध्यक्ष चन्दले सामाजिक सञ्जालमा आफ्नो असन्तुष्टि पोख्ने एक केन्द्रीय सदस्यलाई बैठकमा बस्नुको औचित्य नभएको बताएका थिए।
राष्ट्रिय खेलकुद परिषद्को सिफारिसमा क्यानको केन्द्रीय बनेका सदस्य धर्मराज गिरिलाई अध्यक्ष चन्दले बैठक छाड्न भनेको केन्द्रीय सदस्य अन्सारी बताउँछन्।
'गिरि जीले सामाजिक सञ्जालमा आफ्ना असन्तुष्टि पोख्नु भएको रहेछ। त्यही विषयलाई लिएर अध्यक्षज्यूले बैठकमा नैतिकताको आधारमा बस्नु मिल्दैन भन्नुभयो,' अन्सारीले भने, 'हामीले अध्यक्षज्यूको शैलीको प्रतिवाद गर्यौं। कुनै पनि बोर्ड सदस्यलाई बैठक छाड् भन्ने अधिकार कसैलाई पनि छैन।'
नवौं राष्ट्रिय खेलकुदअन्तर्गको पुरूष क्रिकेट एक महिनाअघि सार्नुको औचित्यमाथि पनि केन्द्रीय सदस्यले प्रश्न गरेका थिए।
वर्षातको बेला राष्ट्रिय खेल गर्दा सबै खेल राम्रोसँग सञ्चालन हुन नसकेको तथा राज्यको लगानी बालुवामा पानी हालेझैं भएकाले एक महिनाअघि राष्ट्रिय खेल गर्नुको औचित्य पुष्टि गर्न कार्यसम्पादन समितिलाई उनीहरूले चुनौती दिएका थिए।
'टी-२० लिग गर्नका लागि सारिएको राष्ट्रिय खेलकुदको औचित्य पुष्टि गर्न उहाँहरूले सक्नु भएन,' सिंहको भनाइ छ।
नेपाल टी-२० लिग सार्नुको कारण माग गर्दा पनि अध्यक्ष चन्दले चाडपर्व र सुरक्षा देखाएर पन्छिन खोजेको उनीहरूको आरोप छ।
'चाडपर्व र सुरक्षाका कारण सार्न परेको भन्नुहुन्छ। चाडपर्व थियो भने पहिले नै थाहा थियो। सुरक्षाको कुरा गर्दा गण्डकीमा हजारौं खेलाडी सहभागी भएर नवौं राष्ट्रिय प्रतियोगिता आयोजना हुँदैछ, त्यसमा सरकारलाई सुरक्षा दिन कुनै समस्या छैन' अन्सारीले भने,'तयारीका कारण सरेको स्पष्ट छ। यसका संयोजकले जिम्मा लिनुपर्छ। विदेशी खेलाडीलाई त्यहाँको क्रिकेट संघले दिनुपर्ने स्वीकृति, नेपालमा लिनुपर्ने श्रम स्वीकृति, आयोजक सेभेन थ्री स्पोर्ट्सको नेपालमा औपचारिक कार्यालय स्थापना नहुँदै हतारमा विदेशी खेलाडीलाई टिममा भित्र्याएको घोषणा गरियो।'
बोर्ड बैठकमा पाँच केन्द्रीय सदस्यले लगातार प्रश्न गरिरहँदा अध्यक्षलाई जवाफ मात्र दिन परेको थियो।
बैठकमा प्रशिक्षक मनोज प्रभाकरलाई नियुक्त गर्नुको आधार, महाप्रबन्धकको काम चित्तबुझ्दो नभएको र क्यानका कर्मचारीको तलब वृद्धिको विषयमा पनि केन्द्रीय सदस्यले जवाफ माग गरेका थिए। यस्तै, छनोट समितिको विषयमा केन्द्रीय सदस्यले असन्तुष्टि पोखेका थिए।
केन्द्रीय सदस्यका विरोधका बाबजुद कार्यसम्पादन समितिका निर्णय भने बहुमतको आधारमा पारित भएको छ। निर्णय पारित भए पनि तीन जना केन्द्रीय सदस्यले 'नोट अफ डिसेन्ट' लेख्ने अन्सारीले बताए।
'क्यानका पछिल्ला निर्णय हचुवाका भरमा भएका छन्। यसमा हाम्रो सहमति छैन। हामी नोट अफ डिसेन्ट लेख्छौं,' अन्सारीले भने।