भारतले दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा दक्षिण अफ्रिकामाथि ७ विकेटको जित निकालेको छ।
जितको लागि २ सय ७९ रनको लक्ष्य पछ्याएको भारतले ४५.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। भारतको जितमा श्रेयस ऐर र ईशान किशनको सानदार ब्याटिङ गरे। ऐरले १ सय ११ बलमा १५ छक्कासहित १ सय १३ रनको अविजित इनिङ खेले।
ईशान किशन ८४ बलमा ४ चौका र ७ छक्कासहित ९३ रनको आक्रामक इनिङ खेले।
तेस्रो विकेटका लागि ऐर र ईशान किशनले १ सय ५५ बलमा १ सय ६१ रनको शतकीय साझेदारी गरेका थिए।
ओपनर शिखर धवन १३ र सुभमन गिल २८ रनमा आउट भएका थिए। यस्तै सन्जु स्यामसन ३६ बलमा १ चौका र १ छक्कासहित २९ रनमा अविजित रहे।
दक्षिण अफ्रिकाका लागि कागिसो रबाडा, वेन पार्नेल र ब्योर्न फोर्टुइनले एक-एक विकेट लिए ।
त्यसअघि राँचीमा टस जितेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ७८ रन बनायो। दक्षिण अफ्रिकाका लागि एडेन माक्ररमले ८९ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ७९ रन बनाए।
रिजा हेन्ड्रिक्सले ७६ बलमा ९ चौका र १ छक्कासहित ७४ रनमा आउट भए। तेस्रो विकेटका लागि एडेन माक्ररम र रिजा हेन्ड्रिक्सले १ सय २९ रनको शतकीय साझेदारी गरेका थिए।
ओपनर क्विन्टन डि कक ५ र जान्नेमान मलान २५ रनमा आउट भए। हेनरिक क्लासेन २६ बलमा २ चौका र २ छक्कासहित ३० रनमा आउट भए। डेविड मिलर ३४ बलमा ४ चौकासहित ३५ रनमा अविजित रहे। वेन पार्नेल १६ र केशव महाराज ५ रनमा आउट भए।
भारतका लागि मोहम्मद शिराजले सर्वाधिक तीन विकेट लिए। वासिन्टन सुन्दर, शहवाज अहमद, कुलदीप यादव र शार्दुल ठाकुरले एक-एक विकेट लिए।
यो जितसँगै भारतले तीन खेलको सिरिज १-१ को बराबरीमा ल्याएको छ। पहिलो खेलमा दक्षिण अफ्रिका ९ रनले विजयी भएको थियो। अब तेस्रो तथा निर्णायक खेल मंगलबार दिल्लीमा हुनेछ।