न्यूजिल्याण्डलाई हराउँदै त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधि पाकिस्तानले जितेको छ। शुक्रबार भएको फाइनलमा न्युजिल्यान्डलाई पाँच विकेटले हराउँदै पाकिस्तानले उपाधि जितेको हो।
क्राइस्टचर्चमा जितका लागि पाएको १ सय ६४ रनको लक्ष्य पाकिस्तानले ३ बल बाँकी छँदै ५ विकेट गुमाएर पुरा गर्यो।
पाकिस्तानको जितमा मोहम्मद नजावले सर्वाधिक नटआउट ३८ रन बनाउँदा मोहम्मद रिजवानले ३४ रन जोडे। यस्तै हैदर अलीले ३१ रन बनाउँदा सान मसुदले १९ तथा कप्तान बाबर अजामले १५ रन जोडे।
बलिङतर्फ न्युजिल्यान्डका माइकल ब्रेसवेलले दुई विकेट लिँदा टिम साउथी, ब्रेयर टिकनेर र इस शोढीले १-१ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६३ रन बनाएको थियो।
उसका लागि कप्तान केन विलियम्सनले सर्वाधिक ५९ रन बनाए। यस्तै ग्लेन फिलिप्सले २९ र मार्क चापम्यानले २५ रन जोडे।
बलिङतर्फ पाकिस्तानका नसीम शाह र हरिस रउफले दुई–दुई तथा सादब खान र मोहम्मद नवाजले १-१ विकेट लिए।
त्रिदेशीय शृङ्खलामा पाकिस्तान, न्युजिल्यान्ड र बङ्गलादेशको सहभागिता थियो। बङ्गलादेशले यो शृङ्खलामा एक खेल पनि जित्न सकेन। अस्ट्रेलियामा आउँदो आइतवारदेखि सुरू हुन लागेको टी–२० विश्वकपअघि तीन देशले शृङ्खला खेलेका हुन्।
८ विकेट लिएका न्यूजिल्याण्डका माइकल ब्रेसवेल प्रतियोगिताको प्लेयर अफ दी सिरिज भए।