भारतले अष्ट्रेलियामाथि रोमाञ्चक जित निकालेको छ।
आइसिसी टी-२० विश्वकप खेल्नुअघि भएको वार्मअप खेलमा घरेलु टोली अष्ट्रेलियालाई ६ रनले हराउँदै भारतले नाटकीय जित हात पारेको हो।
जितको लागि १ सय ८७ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया २० ओभरमा सबै विकेट गुमाउँदै १ सय ८० रनमा समेटियो।
उसका लागि कप्तान आरोन फिन्चले सर्वाधिक ७६ रन बनाए। ५४ बल खेलेका उनले ७ चौका र ३ छक्का प्रहार गरेका थिए।
यस्तै मिचेल मार्शले ३५ रन बनाएका थिए। फिन्च र मार्शले पहिलो विकेटका लागि ५.४ ओभरमा ६४ रनको साझेदारी गरेका थिए। स्टिभ स्मिथ ११ रन बनाउँदा ग्लेन म्याक्सवेल २३ रनमा आउट भए।
बाँकी कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। अष्ट्रेलियाले अन्तिम ९ रन जोड्न ६ विकेट गुमाएको थियो।
हर्षल पटेलले १९ औं ओभरको पहिलो बलमै कप्तान आरोन फिन्चलाई बोल्ड गरे। लगत्तै अर्को बलमा टिम डेविडलाई आउट गरे।
अष्ट्रेलियालाई अन्तिम १० बलमा १६ रन आवश्यक थियो। ४ विकेट हातमा थियो। बाँकी चार बलमा हर्षलले पाँच रन खर्चिएपछि अन्तिम ६ बलमा अष्ट्रेलियालाई जितको लागि ११ रन आवश्यक भयो।
अन्तिम ओभरमा भारतले मोहम्मद शामीलाई बलिङमा ल्यायो। मैदान बाहिर रहेका शामीलाई भारतले सरप्राइज दिँदै अन्तिम ओभरमा मौका दिएको थियो। यो वार्मअप खेल भएकाले आफ्नो १४ खेलाडी मध्ये जो कोहीलाई पनि प्रयोग गर्न मिल्छ। त्यसैले भारतले अन्तिम ओभर गर्न शामीलाई बोलाएको थियो।
शामीले प्याट कमिन्सलाई सुरूवाती दुई बलमा दुई-दुई रन खर्चिए। अब चार बलमा अष्ट्रेलियालाई ७ रन आवश्यक रह्यो। तर अन्तिम चार बलमा शामीले चार विकेट लिँदै नाटकीय जित निकाल्यो।
शामीले तेस्रो बलमा कमिन्सलाई क्याच आउट गराए। चौथो बलमा एश्टन अगर रन आउट भए। पाँचौं बलमा शामीले जोश इंग्लिसलाई एक र अन्तिम बलमा केन रिचर्ड्सनलाई शून्यमा बोल्ड गराउँदै भारतलाई रोमाञ्चक जित दिलाए।
भारतका लागि मोहम्मद शामीले १ ओभरमा ४ रन खर्चेर ३ विकेट लिए। यस्तै भुवनेश्वर कुमारले ३ ओभरमा २० रन खर्चेर २ विकेट हात पार्दा अर्शदीप सिंह, हर्षल पटेल र युजभेन्द्र चहलले समान एक-एक विकेट लिए ।
त्यसअघि ब्रिस्बेन क्रिकेट ग्राउन्डमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८६ रन बनाएको थियो। भारतका लोकेश राहुलले सर्वाधिक ५७ रन बनाए। सूर्यकुमार यादवले ३३ बल खेल्दै ६ चौका र १ छक्कासहित ५० रनमा आउट भए।
कप्तान रोहित शर्माले १५ रन बनाउँदा विराट कोहली १९ रनमा आउट भए । हार्दिक पान्ड्या २ रनमा आउट हुँदा दीनेश कार्तिकले २० रन बनाए। अक्षर पटेल र रविचन्द्रन आश्विनले ६–६ रन बनाए ।
अष्ट्रेलियाका लागि केन रिचर्ड्सनले १, मिचेल स्टार्क, ग्लेन म्याक्सवेल, एश्टन अगरले एक एक विकेट लिए।
अब भारतले दोस्रो वार्मअप खेल बुधबार न्युजिल्यान्डसँग खेल्नेछ।
विश्वकपमा सुपर १२ को समूह बी मा रहेको भारतले आगामी आइतबार पाकिस्तानसँग खेल्दै सुरूआत गर्नेछ। अष्ट्रेलियाले विश्वकपमा शनिबार न्युजिल्यान्डसँग खेल्दै सुरूआत गर्ने तालिका छ।