अष्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेट अन्तर्गत श्रीलङ्काविरूद्धको खेलमा यूएईका कार्थिक मयप्पनले ह्याट्रिक विकेट लिएका छन्।
खेलको १५ औं ओभरको अन्तिम तीन बलमा लगातार विकेट लिँदै मयप्पनले ह्याट्रिक पुरा गरेका हुन्।
उनले १५ औं ओभरको चौथो बलमा भानुका राजपाक्षलाई ५ रनमा आउट गरेका थिए भने पाँचौ बलमा चरिता असलङ्का र अन्तिम बलमा दसुन सनाकालाई शून्यमा आउट गरे।
जित्नै पर्ने खेलमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५२ रन बनायो।
उसका लागि पथुम निशांकाले सर्वाधिक ७४ रन बनाए। यस्तै धनन्जय डि शिल्भाले ३३ रन बनाउँदा मुशल मेन्डिसले १८ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
श्रीलंकालाई मध्यम स्कोरमा रोक्न युएईका मयप्पनको ह्याट्रिकबाहेक जाहुर खानले २ तथा आयन लाक्रा र आयन अफजाल खानले १-१ विकेट लिए।
यसअघि आजै भएको पहिलो खेलमा नेदरल्याण्ड्सले लगातार दोस्रो जित निकालेको छ।
जिलोङमा मंगलबार भएको खेलमा नेदरल्याण्ड्सले नामिबियामाथि ५ विकेटको जित निकाल्दै सुपर १२ नजिक पुगेको हो।
नामिवियाले दिएको १ सय २२ रनको लक्ष्य नेदरल्याण्ड्सले ५ विकेट गुमाएर तीन बल बाँकी छँदै भेटायो।
उसको लागि विक्रमजित सिंहले ३९ रन बनाउँदा म्याक्स ओडोडले ३५ रन जोडे। यस्तै बास डे लिडेले ३० रन बनाएका थिए।
नामिवियाका जेजे स्मिथले दुई विकेट लिँदा बर्नार्ड स्कोल्ड्च र जान फ्रायलिङ्कले १-१ विकेट लिए।
यसअघि पहिले ब्याटिङ गरेको नामिवियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२१ रन बनाएको थियो। उसका लागि जान फ्राइलिंकको सर्वाधिक ४३ रन बनाएका थिए।
मिचेल भान लिङ्गेनले २० रन जोड्दा कप्तान गेरहार्ड इसासमसले १६ रन बनाएका थिए।
पहिलो खेलमा नामिबियाले श्रीलंकालाई र नेदरल्याण्ड्सले यूएईलाई हराएका थिए ।
समूह ए मा दुई खेलमा चार अंकसहित नेदरल्याण्ड्स शीर्ष स्थानमा छ । नामिविया दोस्रो स्थानमा छ। श्रीलंका र युएईले अंक जोड्न सकेका छैनन्। श्रीलंका पुछारमा छ ।