नेदरल्याण्ड्सलाई हराउँदै श्रीलंका आइसिसी टी-२० विश्वकपको सुपर १२ मा प्रवेश गरेको छ।
पहिलो खेलमै नामिबियासँग पराजित भएको श्रीलंका त्यसपछि लगातार दोस्रो जित निकाल्दै सुपर १२ मा पुगेको हो।
जितको लागि १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४६ रन मात्र बनाउन सक्यो । उसका लागि ओपनर म्याक्स ओडाउडले सर्वाधिक ७१ रन बनाए पनि टोलीलाई जिताउन सकेनन्।
५३ बल खेलेका उनले ६ चौका र ३ छक्का प्रहार गरेका थिए।
अन्य ब्याटरको प्रदर्शन भने राम्रो हुन सकेन। कप्तान स्कर्ट एडवार्ड्सले २१ रन बनाउँदा टम कुपरले १६, बास डि लिडे १४, विक्रमजित सिंह ७ रनमा आउट भए।
श्रीलंकाका लागि वानिन्दु हसरंगाले सर्वाधिक ३ विकेट लिए। यस्तै महेश थिक्सनाले २ विकेट लिँदा बिनुरा फेर्नान्डो र लाहिरू कुमाराले १-१ विकेट लिए।
त्यसअघि भिक्टोरियाको साउथ जिलोङमा टस जितेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६२ रन बनायो।
ओपनर कुशल मेन्डिसले ४४ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ७९ रनको योगदान दिए। यस्तै चरिथ असालंकाले ३१ रन बनाउँदा भानुका राजपाक्षे १९ रनमा आउट भए। कप्तान दासुन शनका ८ रनमा आउट हुँदा ओपनर पाथुम निसांकाले १४ रन जोडे। नेदरल्यान्ड्सका पाउल भान माक्रे र बास डि लिडेले समान दुई विकेट लिए। यस्तै फ्रेड क्लासेन र गुत्जेनले १-१ विकेट लिए।
यो जितसँगै समूह ए मा श्रीलंका ३ खेलमा २ मा जित र १ मा हार सहित शीर्ष स्थानमा छ। नेदरल्यान्ड्स ३ खेलमा २ मा जित र १ मा हार सहित ४ अंक भए पनि नेटरनरेटको कारण दोस्रो स्थानमा छ।
अब नेदरल्यान्ड्स सुपर १२ मा पुग्न आजै हुने युएई र नामिबियाबीचको खेलमा निर्भर पर्नेछ। नामिबिया उक्त खेलमा विजयी भए नेदरल्यान्ड्स नेटरनरेटको कारण बाहिरने छ। नामिबिया पराजित हुँदा भने नेदरल्यान्ड्स सुपर १२ मा पुग्नेछ।
यस्तै समूह बी को शुक्रबारको खेलले निर्धारण गर्नेछ।
सुपर १२ को समूह ए मा इंग्ल्यान्ड, अष्ट्रेलिया, न्युजिल्यान्ड, अफगानिस्तान, समूह ए को विजेता र समूह बी को उपविजेता रहनेछन्।
सुपर १२ को समूह बी मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश, समूह बी को विजेता र समूह ए को उपविजेता हुनेछन्।