अष्ट्रेलियामा जारी आइसीसी टी-२० पुरूष विश्वकप २०२२ को पुपर १२ मा श्रीलंकासँगै नेदरल्याण्ड्स पनि पुगेको छ।
बिहीबार समूह ए को निर्णायक खेलमा युएईसँग नामिबिया पराजित हुँदा नेदरल्यान्ड्स सुपर १२ मा पुगेको थियो ।
नामिबियामाथि युएईले सात रनको रोमान्चक जित निकालेको थियो।
जितको लागि १ सय ४९ रनको मध्यम लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४१ रन मात्र बनाउन सक्यो। उसका लागि डेविड विजाले सर्वाधिक ५५ रन बनाए पनि टोलीको हार टार्न सकेनन्।
रूबेन ट्रम्पलम्यान २४ रनमा अविजित रहँदा कप्तान जिरहार्ड एरर्समसले १६ रन बनाए।
एक समय ६९–७ को दयनीय अवस्थामा पुगेको नामिबियालाई आठौं विकेटका लागि डेविड विजा र रुवेन ट्रम्पलम्यानले ४४ बलमा ७० रनको सानदार साझेदारी गर्दै जित नजिक पुर्याएका थिए।
युएईका जहुर खानले २ विकेट लिए। जुनैद सिद्दिक, मोहम्मद वासिम र कार्तिक मयाप्पनले एक एक विकेट लिए।
त्यसअघि भिक्टोरियामा टस जितेर पहिला ब्याटिङको गरेको युएईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ४८ रन बनाएको थियो। उसका लागि ओपनर मोहम्मद वासिमले सर्वाधिक ५० रन बनाएका थिए। कप्तान सिपी रिजवानले ४३ रन जोडे।
बासिल हामिद २५ रनमा अविजित रहँदा ओपनर वृत्य अरविन्द २१ रनमा आउट भए।
नामिबियाका डेविड विजा, बेनार्ड स्कोल्टज र बेन शिकोगोंले एक एक विकेट लिए।
यो सँगै समूह ए मा समान ४ अंक भए पनि श्रीलंका शीर्ष र नेदरल्यान्ड्स दोस्रो स्थानमा रहँदै सुपर १२ मा पुगेका छन्। समान २-२ अंक भए पनि नामिबिया तेस्रो र युएई पुछारमा रहँदै विश्वकपबाट बाहिरिए ।
सुपर १२ को समूह ए मा इंग्ल्यान्ड, अष्ट्रेलिया, न्युजिल्यान्ड, अफगानिस्तान, समूह ए को विजेता श्रीलंका र समूह बी को उपविजेता रहनेछन्।
सुपर १२ को समूह बी मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश समूह बी को विजेता र समूह ए को उपविजेता नेदरल्यान्ड् रहनेछन्।