दुई पटकको च्याम्पियन वेस्ट इन्डिजलाई ९ विकेटले हराउँदै आयरल्यान्ड आईसीसी टी-२० विश्वकपको सुपर १२ मा पुगेको छ।
लागि १ सय ४७ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले १७.३ ओभरमा मात्र १ विकेट गुमाएर पुरा गर्यो।
आयरल्यान्डको जितमा पउल स्टर्लिङले सर्वाधिक ६६ रन बनाए। ४८ बल खेलेका उनले ६ चौका २ छक्का प्रहार गर्दै अविजित रहे। लोर्कान टर्कर ४६ रनमा अविजित रहँदा कप्तान एन्ड्रयु बालबिर्नीले ३७ रन जोडे।
पहिलो विकेटका लागि कप्तान बालबिर्नी र स्टर्लिङबीच ७.३ ओभरमा ७३ रनको साझेदारी भएको थियो।
वेष्टइन्डिजका अकेल होसेनले १ विकेट लिए।
त्यसअघि होबार्टमा टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४६ रन बनायो।
वेस्टइन्डिजका लागि ब्रेन्डन किंगले सर्वाधिक ६२ रन बनाए। ४८ बल खेलेका उनले ६ चौका र १ छक्का प्रहार गर्दै अविजित रहे। जोहनसन चार्ल्सले २४ रन बनाउँदा ओडेन स्मिथले १९ रन बनाए।
इविन लेविस र कप्तान निकोलस पुरनले १३-१३ रन बनाए। रोभम्यान पावेलले ६ रन जोडे।
आयरल्यान्डका लागि ग्यारेथ डेलानीले सर्वाधिक ३ विकेट लिए। सिमि सिंह र ब्यारी म्याकर्थीले एक-एक विकेट हात पारे।
यो जितसँगै आयरल्याण्ड सुपर १२ मा पुग्ने ११ औं टोली भएको छ।
सन् २०१२ र २०१६ को टी-२० विश्व च्याम्पियन वेस्ट इन्डिज पहिलो चरणबाटै बाहिरिएको हो।
यस्तै आजै हुने स्कटल्यान्ड र जिम्बावेबीच दिउँसो १ : ४५ बजे हुने दोस्रो खेलले सुपर १२ मा पुग्ने अन्तिम टोली छनोट हुनेछ। यहीँ खेलको नतिजाले समूह विजेता र उप विजेता निर्धारण हुनेछ।
समूह ए बाट श्रीलंका शीर्ष र नेदरल्यान्ड्स दोस्रो स्थानमा रहँदै सुपर १२ मा पुगिसकेका छन्। श्रीलंका सुपर १२ को समूह ए र नेदरल्यान्ड्स समूह बी मा रहनेछन्।
सुपर १२ को समूह ए मा इंग्ल्यान्ड, अष्ट्रेलिया, न्युजिल्यान्ड, अफगानिस्तान, समूह ए को विजेता श्रीलंका र समूह बी को उपविजेता रहने छन्।
सुपर १२ को समूह बी मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश समूह बी को विजेता र समूह ए को उपविजेता नेदरल्यान्ड् रहनेछन्।
सुपर १२ को खेल शनिबारदेखि सुरू हुनेछ। पहिलो खेलमा आयोजक अष्ट्रेलियाले न्यूजिल्याण्डको सामना गर्नेछ।