अष्ट्रेलियामा जारी टी-२० विश्वकप क्रिकेटमा बिहीबार जिम्बावेले पाकिस्तानविरूद्ध १ रनको रोमाञ्चक जित निकालेको छ। यसअघि भारतसँग पनि पराजय भएको पाकिस्तानको यो जारी विश्वकपमा दोस्रो हार हो।
पाकिस्तानलाई हराएपछि जिम्बावेका फ्यानहरूले यो जितमा नक्कली मिस्टर बिनको प्रसंग जोडेर सामाजिक सञ्जालमा चर्चा गरिरहेका छन्। चर्चा यतिसम्म छ कि जिम्बाबेका राष्ट्रपति एमर्सन मुनाङ्ग्वावाले समेत जिम्बावेको टिमलाई बधाई दिँदै अर्को पटक वास्तविक मिस्टर बिन पठाउन भन्दै ट्विट गरेका छन्।
मिस्टर बिन नामका पात्र हास्य अभिनयका लागि संसारभर प्रख्यात छन्। मिस्टर बिनको भूमिका बेलायती अभिनेता रोवान एट्किन्सनले गरेका थिए।*
पाकिस्तान र जिम्बावेको खेलमा मिस्टर बिन जोडिनुको कारणचाहिँ सन् २०१६ मा जिम्बावेको राजधानी हरारेमा भएको एउटा कृषि मेलामा पाकिस्तानले मिस्टर बिन जस्ता देखिने आफ्ना एक नागरिकलाई पठाएको थियो। आसिम मोहम्मद नामका ती व्यक्ति मिस्टर बिन जस्तै देखिन्थे। उनलाई हेर्नका लागि जिम्बाबेमा १० अमेरिकी डलरको टिकटको व्यवस्था गरिएको थियो।
जिम्बावेका फ्यानहरूले त्यतिबेला पाकिस्तानले नक्कली मिस्टर बिन पठाएर आफूलाई दिएको धोकाको बदला पाकिस्तानलाई विश्वकपमा हराएर लिएको भन्दै खुसी मनाएका हुन्।
(यसअघि यो समाचारमा असावधानीबस अभिनेता रोवान एट्किन्सनको निधन भइसकेको भन्ने वाक्यांश पर्न गएकोमा क्षमाप्रार्थी छौं। -सम्पादक)