आइसिसी टी-२० विश्वकपअन्तर्गत आइतबार बंगलादेशले जिम्बावेविरूद्धको अन्तिम बलमा कुनै रन नदिएपछि जितको खुसी मनायो।
ब्रिसबेनमा भएको खेलमा अन्तिम बलमा जिम्बावेलाई ५ रन चाहिएको थियो। तर बंगलादेशका मोसाडक हुसेनको बलमा जिम्बावेका ब्लेसिङ मुजरबानीले कुनै रन लिन सकेनन्।
त्यसपछि बंगलादेशका खेलाडीले जितको खुसी मनाउन थालेका थिए।
तर थर्ड अम्पायरले अन्तिम बलको भिडिओ रिभ्यू गरे।
बंगलादेशका विकेटकिपर नुरुल हसनले स्टम्पको अगाडि नै बल समातेका थिए वा थिएनन् भनेर हेरिएको थियो। जसमा उनले स्टम्प अघि नै बल समातेको देखिएको थियो। जसका कारण सो बललाई नो बल दिइएको थियो।
जितको खुसी मनाएका बंगलादेशले फेरि एक बलिङ गर्न परेको थियो। अन्तिम बलमा नो बल भएका कारण जिम्बावेलाई जितका लागि अन्तिम बलमा ४ रन चाहियो। तर अन्तिम बलमा फेरि बंगलादेशका मोसाडकले जिम्बावेका मुजरबानीलाई कुनै रन लिन दिएनन्।
त्यसपछि मात्र बंगलादेशका खेलाडी ढुक्कले खुसी मनाउन पाए।
समूह-२ को यो रोमाञ्चक खेलमा बंगलादेशले जिम्बावेलाई ३ रनले पराजित गर्यो। बंगलादेशले दिएको १५१ रनको लक्ष्य पछ्याएको जिम्बावेले २० ओभरमा ८ विकेट गुमाएर १४७ रन मात्र जोड्न सक्यो।
अन्तिम ओभरमा जिम्बावेलाई जितका लागि १६ रन चाहिएको थियो। जसमा जिम्बावेका रायन बुर्लले पहिलो बलमा १ रन लिए। दोस्रो बलमा बंगलादेशका मोसाडकले जिम्बावेका ब्राड इभान्सलाई आउट गरे।
तेस्रो बलमा जिम्बावेका एनगाराभाले चार रन र चौथो बलमा छक्का हिर्काउँदै जिम्बावेलाई खेलमा फर्काए। पाँचौ बलमा उनी आउट हुँदा अन्तिम बलमा जिम्बावेलाई जितका लागि ६ रन चाहिएको थियो।
त्यसपछि अन्तिम बलमा जिम्बावेका मुजरबानीले कुनै रन लिन नसकेको देखिएको थियो। त्यसपछि बंगलादेशका खेलाडीले जितको खुसी पनि मनाएका थिए।
भिडिओ रिभ्यूमा अन्तिम बल नो बल देखियो। अन्तिम बलमा नो बल भएका कारण जिम्बावेलाई जितका लागि अन्तिम बलमा ४ रन चाहियो। तर अन्तिम बलमा फेरि बंगलादेशका मोसाडकले जिम्बावेका मुजरबानीलाई कुनै रन लिन दिएनन् र बंगलादेशलाई ३ रनको रोमाञ्चक जित दिलाए।
त्यसअघि जिम्बावेका लागि सीन विलियम्सले सबैभन्दा बढि ६४ रनको योगदान दिँदा रायन बुर्ल नटआउट २७ रन जोडे।
बलिङमा बंगलादेशका टक्सिन अहमेदले ३ विकेट लिँदा मोसाडक हुसेन र मुस्ताफिजुर रहमानले २-२ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ७ विकेटको क्षतिमा १५० रन जोड्यो। उसका लागि ओपनर नाजमुल हुसेन सान्तोले सबैभन्दा बढी ७१ रन जोडे। उनले ५५ बलमा ७ चौका र १ छक्का हिर्काए।
बलिङमा जिम्बावेका रिचार्ड एनगाराभा र मुजरबानीले २-२ विकेट लिए।
जितसँगै बंगलादेश समूह-२ को दोस्रो स्थानमा उक्लिएको छ। उसले तीन खेलमा दुई जितसहित ४ अंक जोडेको छ।