आजदेखि सुरू भएको प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगितामा नेपाल पुलिस क्लबका कप्तान दीपेन्द्रसिंह ऐरीले शतक प्रहार गरेका छन्।
आइतबार समूह ‘बी’ अन्तर्गत मुलपानी मैदानमा भएको खेलमा पुलिस क्लबका कप्तान दीपेन्द्रले बागमती प्रदेशविरुद्ध शतक हिर्काएका हुन्।
टस हारेर पहिले ब्याटिङ गरेको पुलिसका लागि दीपेन्द्रले १०८ रन जोडे। उनले ८२ बलमा ११ चौका र ४ छक्का हिर्काए। पुलिसका लागि सुनील धमला र कुशल भुर्तेलले ३७-३७ रन तथा आरिफ शेखले ३६ रनको योगदान दिए।
दीपेन्द्रको शतक प्रेरित पुलिसले ५ विकेटको क्षतिमा २८९ रन जोड्यो। २९० रनको लक्ष्य पाएको बागमतीले ब्याटिङ सुरु गरेको छ।
यता कीर्तिपुर मैदानमा समूह ‘ए’ को खेलमा त्रिभुवन आर्मीविरूद्ध टस जितेर पहिले ब्याटिङ गरेको एपिएफले २२० रनको लक्ष्य प्रस्तुत गरेको छ। एपिएफ ४७.४ ओभरमा २१९ रनमा अलआउट भयो।
एपिएफका लागि प्रदीप ऐरीले ७१ रन र सन्दीप जोराले ५० रनको योगदान दिएका छन्। बलिङमा आर्मीका विक्रम शोवले चार विकेट लिँदा सहाब अलाम र कुशल मल्लले २-२ विकेट हात पारेका छन्।