आइसिसी टी-२० विश्वकपमा भारतले पहिलो हार बेहोरेको छ। आइतबार पर्थमा भएको समूह-२ को खेलमा भारतमाथि दक्षिण अफ्रिकाले ५ विकेटको जित हात पार्यो।
टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ९ विकेट गुमाउँदै १३३ रन मात्र जोड्न सक्यो। उसका लागि सूर्यकुमार यादवले ६८ रन जोड्दा अरु ब्याट्सम्यान सस्तैमा आउट भए।
भारतलाई सस्तैमा समेट्ने क्रममा दक्षिण अफ्रिकाका लुङ्गी एनगिडीले ४ विकेट लिए। वायन पनेलले ३ विकेट हात पारे।
१३४ रनको लक्ष्य दक्षिण अफ्रिकाले २ बल खेल्न बाँकी छदा' ५ विकेटको क्षतिमा पार गर्यो। उसका एडिन मक्रमले ५२ रन र डेभिड मिलरले नटआउट ५९ रन जोडे।
बलिङमा भारतका अर्शदीप सिंहले २ विकेट लिए।
जारी विश्वकपमा भारतले यसअघि पाकिस्तान र नेदरल्यान्ड्सलाई पराजित गरेको थियो। दक्षिण अफ्रिकाले बंगलादेशलाई हराउँदा जिम्बावेविरुद्धको खेल वर्षाले अवरुद्ध भएको थियो।
समूह-२ मा शीर्ष स्थानमा दक्षिण अफ्रिकाले ३ खेलबाट ५ अंक जोडेको छ। दोस्रो स्थानको भारतको ४ अंक र तेस्रो स्थानको बंगलादेशको पनि ४ अंक छ।