अस्ट्रेलियामा जारी आइसिसी पुरूष टी-२० विश्वकपमा तीन राउण्डको खेलपछि समूह-२ मा सेमिफाइनल समिकरण रोचक बनेको छ।
समूहका ६ टिममध्ये शीर्ष दुई टिम सेमिफाइनलमा पुग्ने प्रावधानअनुसार ५ टिमको सेमिफाइनलमा पुग्ने सम्भावना अझै बाँकी छ।
दक्षिण अफ्रिका आइतबार भारतलाई हराएपछि पाँच अंकसहित समूहको शीर्ष स्थानमा उक्लिएको छ। यो सँगै उसलाई सेमिफाइनल पुग्ने अरूको तुलनामा सहज छ।
भारत र बंगलादेश दुवै टिम चार-चार अंकसहित दोस्रो र तेस्रो स्थानमा छन्। नेट रन रेटमा भारत अघि छ। आगामी बुधबार हुने भारत र बंगलादेशबीचको खेलले समूह-२ को समिकरणका लागि महत्वपूर्ण छ। ३ अंक जोडेको जिम्बावे चौथो स्थानमा रहँदा २ अंक जोड्दै पाकिस्तान पाँचौ स्थानमा छ।
कसको सम्भावना कति?
नेदरल्याण्ड
आइतबार पाकिस्तानसँग हारेसँगै एसोशिएट राष्ट्र नेदरल्याण्ड सेमिफाइनल दौडबाट बाहिरिएको छ।
अब नेदरल्याण्डले दुई टोलीसँग खेल्नेछ। चौथो खेल बुधबार जिम्बावेविरूद्ध खेल्नेछ भने अन्तिम खेल आइतबार दक्षिण अफ्रिकासँग खेल्नेछ। यी दुबै टोलीलाई हराए पनि नेदरल्याण्ड सेमिफाइनल पुग्न सक्दैन।
दक्षिण अफ्रिका
यो समूहमा सबैभन्दा सहज स्थितिमा अपराजित टोली दक्षिण अफ्रिका रहेको छ। आइतबार भारतलाई हराउँदै समूहको शीर्ष स्थानमा रहेको दक्षिण अफ्रिकाको ३ खेलबाट २ जितसहित ५ अंक भएको छ।
अब दक्षिण अफ्रिकाले पाकिस्तान र नेदरल्याण्डसँग खेल्नेछ। यदि दुबै खेल जितेमा ९ अंक जोड्दै समूहको शीर्ष स्थानमा रहेर सेमिफाइनल पुग्नेछ भने कुनै एक खेल जितेमा पनि ७ अंक जोडेर अन्तिम चारमा स्थान सुरक्षित गर्नेछ। तर दुबै हारले दक्षिण अफ्रिकालाई केही असर गर्नसक्नेछ।
दक्षिण अफ्रिकाले आगामी बिहिबार पाकिस्तानसँग खेल्नेछ भने आइतबार नेदरल्याण्डसँग खेल्नेछ।
भारत
आइतबार दक्षिण अफ्रिकासँग हारेसँगै भारतलाई सेमिफाइनल प्रवेश गर्न अघिल्ला दुबै खेल जित्नुपर्ने देखिन्छ।
यदि भारतीय टिम बुधबार बंगलादेश र आइतबार जिम्बावेसँग पराजित भए बाहिरिनेछ। तर कुनै एक खेल जितेमा उसले बंगलादेशको भर पर्नुपर्नेछ। बंगलादेश पनि अन्तिम खेलमा पाकिस्तानसँग पराजित भए रन रेटका आधारमा भारत, बंगलादेश र पाकिस्तानमध्ये एक टोली अन्तिम चारमा पुग्नेछ।
पाकिस्तान
भारत र जिम्बावेविरुद्ध अन्तिम बलमा भोगेको दुई पराजयले पाकिस्तानलाई सेमिफाइनलमा पुग्नको लागि केही विशेष परिस्थितिको आवश्यकता छ।
यदि भारत र दक्षिण अफ्रिकाले अर्को दुई खेल हारे भने मात्र पाकिस्तानको सेमिफाइनल पुग्ने बाटो खुल्नेछ। वर्षाले पाकिस्तानको आसा समाप्त पार्न सक्छ।
यदि पाकिस्तानले नोभेम्बर ३ मा दक्षिण अफ्रिका र ६ नोभेम्बरमा बंगलादेशलाई हराएमा उसको ६ अंक हुनेछ। दुवै खेलमा जित हात पारे पनि पाकिस्तानको सेमिफाइनल यात्रा आफ्नो हातबाट बाहिर छ। उसले अन्य खेलको नतिजा कुर्नुपर्ने हुन्छ।
यदि दक्षिण अफ्रिका र जिम्बावेले बाँकी दुई खेल जिते भने पाकिस्तान सेमिफाइनलको दौडबाट बाहिरिने छ।
यदि भारत बंगलादेशसँग हारेमा र अन्तिम खेलमा जिम्बावेलाई हराए पनि पाकिस्तान, भारत र बंगलादेशको समान ६-६ अंक भएर राम्रो रन रेटका आधारमा एक टिम सेमिफाइनलमा पुग्नेछ। दक्षिण अफ्रिकाले अन्तिम खेलमा नेदरल्याण्डलाई हराए समूह विजेता हुनेछ भने वर्षाले खेल रद्ध भएको अवस्थामा चारै टोलीको समान ६-६ अंक हुनेछ।
बंगलादेश
बंगलादेशलाई सेमिफाइनल पुग्न आफ्ना दुबै खेल जित्नुपर्ने हुन्छ। बंगलादेशले अन्तिम २ खेलमा भारत र पाकिस्तानसँग खेल्नेछ। बुधबार भारत र आइतबार पाकिस्तानसँग खेल्नुपर्नेछ।
यदि बंगलादेशले दुबै खेल जिते ८ अंकसहित सेमिफाइनल पुग्नेछ।
जिम्बावे
३ खेलबाट ३ अंक जोडेको जिम्बावेलाई सेमिफाइनल पुग्न आगामी दुबै खेल जित्नुपर्ने हुन्छ। बुधबार नेदरल्याण्ड र आइतबार भारतलाई हराए जिम्बावे ७ अंकसहित सेमिफाइनलमा पुग्नेछ।