प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार दोस्रो खेलमा जित निकालेको छ।
सोमबार भएको खेलमा पुलिसले प्रदेश एकलाई सात विकेटले पराजित गर्यो। यसअघि पुलिसले बागमती प्रदेशलाई हराएको थियो।
समूह ‘बी’ अन्तर्गत मुलपानी भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश एक १०२ रनमै अलआउट भयो।
प्रदेश एकका ओपनरद्वय निरज मुखियाले २९ रन र अंकित सुवेदीले २४ रन जोडे। अरु ब्याट्सम्यान सस्तैमा आउट भए।
बलिङमा पुलिसका ललितनारायण राजवंशीले ५ विकेट लिए। उनले १० ओभरमा ३ मेडन राख्दा २६ रन खर्चिए। सागर ढकाल र दीपेन्द्रसिंह ऐरीले २-२ विकेट लिए।
१०३ रनको लक्ष्य पुलिसले ३ विकेटको क्षतिमा १४ ओभरमै पूर गर्यो। पुलिसका ओपनर सुनील धमला शून्यमा आउट भए भने कुशल भुर्तेलले २८ बलमा ५ चौका र ३ छक्का हिर्काउँदै ४२ रन जोडे।
शंकर रानाले २९ रन बटुल्दा कप्तान दीपेन्द्रले नटआउट १४ रन र रासिद खानले नटआउट १६ रन जोडे। बलिङमा प्रदेश एकका फिर्दोस अन्सारी र सिद्धान्त लोहनीले १-१ विकेट लिए।
यता समूह ‘ए’ अन्तर्गत कीर्तिपुर मैदानमा भएको खेलमा गण्डकीले सुदूरपश्चिमलाई ६९ रनले पराजित गर्यो।
टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले ८ विकेटको क्षतिमा २०८ रन जोड्यो। गण्डकीका लागि ओपनर अर्जुन कुमालले ६३ रन जोडे भने समीनर कँडेलले २६ रन र विधान श्रेष्ठले २५ रन बटुले। अभिषेक बस्नेतले पनि २५ रनको योगदान दिए।
बलिङमा सुदूरपश्चिमका कैलाश ऐर, नारायण जोशी र शेर मल्लले २-२ विकेट लिए। २०९ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ३२.४ ओभरमा १३९ रनमै अलआउट भयो।
उसका लागि गजेन्द्र बोहराले ३५ रन र मिलन बोहराले ५१ रन बटुले। बलिङमा गण्डकीका बिपिन खत्रीले ४ विकेट लिए। सुवास भण्डारीले अभिषेक बस्नेतले २-२ विकेट हात पारे।