आइसिसी टी-२० विश्वकपमा आयोजक अस्ट्रेलिया समूह-१ को दोस्रो स्थानमा उक्लिएको छ।
सोमबार ब्रिसबेनमा भएको आफ्नो चौथो खेलमा आयरल्यान्डमाथि ४२ रनको जित निकाल्दै अस्ट्रेलिया दोस्रो स्थानमा उक्लिएको हो।
जितसँगै अस्ट्रेलियाले सेमिफाइनल सम्भावना जीवितै बनाएको छ। टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ५ विकेटको क्षतिमा १७९ रन जोड्यो।
अस्ट्रेलियाका लागि कप्तान आरोन फिञ्चले ६३ रन जोडे। उनले ४४ बलमा ५ चौका र ३ छिक्का हिर्काए। मिचेल मार्सले २८ रन र मार्कस स्टोइनिसले २५ बलमा ३५ रनको योगदान गरे। टिम डेभिडले १० बलमा नटआउट १५ रन जोडे।
बलिङमा आयरल्यान्डका ब्यारी म्याकार्थीले ३ विकेट लिन सफल भए भने जोश लिटलले २ विकेट हात पारे।
१८० रनको लक्ष्य पछ्याएको आयरल्यान्ड १८.१ बलमा १३७ रनमै अलआउट भयो।
चार ओभरमा २५ रन बनाउँदा महत्वपूर्ण पाँच विकेट गुमाएको आयरल्यान्डका लोर्कन टकरले नटआउट ७१ रन जोडे। उनले ४८ बलमा ९ चौका र १ छक्का प्रहार गरे।
बलिङमा अस्ट्रेलियाका पाट कमिङ्ग्स, ग्लेन म्याक्सवेल, मिचेल स्टार्क र एडम जाम्पाले २-२ विकेट लिन सफल भए।
जितसँगै समूह-१ को दोस्रो स्थानमा उक्लिएको अस्ट्रेलियाले ४ खेलबाट ५ अंक जोडेको छ।
३ खेलबाट ५ अंक जोडेको न्युजिल्यान्ड रन रेटमा अघि रहदै शीर्ष स्थानमा छ। तेस्रो स्थानको इंग्ल्यान्डको ३ खेलबाट ३ अंक र चौथो स्थानको आयरल्यान्डको ४ खेलबाट ३ अंक रहेको छ।