अष्ट्रेलियामा जारी आइसिसी पुरूष टी-२० विश्वकपको सुपर १२ अन्तर्गत समूह ए मा आज दुई खेल हुनेछन्।
पहिलो खेलमा श्रीलंका र अफगानिस्तान भिड्नेछन् भने दोस्रो खेलमा इङ्ल्याण्डले न्यूजिल्याण्डको सामना गर्नेछ। सेमिफाइनल प्रवेशका लागि आजको दुबै खेल महत्वपूर्ण छ।
६ टोली रहेको समूहबाट शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन्।
सेमिफाइनल प्रवेशको झिनो आशामा रहेका दुई टोली अफगानिस्तान र श्रीलंका सुपर १२मा आज भिड्दैछन्।
ब्रिसबेनमा नेपाली समय अनुसार बिहान ९:४५ बजे सुरू हुने खेलमा दुबै टोलीले जित्नै पर्ने दबाबमा खेल्दैछन्।
समूह २ मा रहेका ६ टोलीमध्ये पुछारमा रहेका यी दुबै टोलीको समान २-२ अंक छ। अघिल्लो चरण प्रवेश गर्न अफगानिस्तान र श्रीलंकाका लागि आगामी दुबै खेल जित्नैपर्ने दबाब छ।
यो समूहमा समान पाँच-पाँच अंक जोडेका आयोजक अष्ट्रेलिया र न्युजिल्यान्ड अग्रस्थानमा छन्। यस्तै समानन ३-३ अंक जोडेका इङ्ल्याण्ड र आयरल्याण्ड तेस्रो र चौथो स्थानमा छन्। एउटा समूहबाट दुई टिमले सेमिफाइनलमा स्थान बनाउँछन्। त्यसैले सेमिफाइनलको यात्रा अफगानिस्तान र श्रीलंका दुवैलाई बाँकी खेल जित्नुको विकल्प छैन। अन्यथा अन्तिम चारको दौडबाट बाहिरिनेछन् । यसबाहेक, वर्षाको खतरा बढ्दै गएकाले खेल वाशआउट भएमा दुवै टोली प्रतिस्पर्धाबाट बाहिरिनेछन्।
अफगानिस्तानका तीन खेलमध्ये दुई खेल वर्षाले प्रभावित भइसकेका छन्। कडा संघर्ष र राम्रो प्रदर्शनका बाबजुद इङ्ल्यान्डसँग हारेपछि अफगानिस्तानको न्युजिल्यान्ड र आयरल्यान्डविरुद्धको दुवै खेल वर्षाका कारण रद्द भएको थियो।
यस्तै श्रीलंकाले सबै तीन खेल खेल्न पाएको छ। तर, उसले त्यसको सदुपयोग गर्न सकेको छैन। आयरल्यान्डमाथि नौ विकेटको सहज जितसहित आफ्नो सुपर–१२ अभियान सुरूआत गरेको श्रीलंका त्यसपछि लगातार दुई खेलमा अष्ट्रेलिया र न्युजिल्याण्डसँग पराजित भयो।
सम्भावित ११ टिम
अफगानिस्तानः
रहमानुल्लाह गुरबाज (विकेटकीपर), इब्राहिम जद्रान, उस्मान घानी, नजिबुल्लाह जद्रान, गुलबादिन नाइब, मोहम्मद नाबी (कप्तान), अजमातुल्लाह ओमरजाई, राशिद खान, मुजीब उर रहमान, फरीद अहमद मलिक, फजलहक फारुकी
श्रीलंकाः
पाथुम निसान्का, कुशल मेन्डिस (विकेटकिपर), धनञ्जय डी सिल्भा, चरिथ असालंका, भानुका राजपाक्षे, डासुन शानाका (कप्तान), वानिन्दु हसरंगा, चमिका करुणारत्ने, महेश थेक्षना, लाहिरु कुमारा, कासुन रजिथा
यस्तै आजै हुने दोस्रो खेलमा इङ्ल्याण्डले शीर्ष स्थानमा रहेको न्यूजिल्याण्डको सामना गर्नेछ। खेल नेपाली समय अनुसार दिउँसो १ : ४५ मा ब्रिस्बेनमा सुरूहुनेछ।
सुपर १२ को समूह ए मा रहेको न्युजिल्यान्ड आज विजयी भए सेमिफाइनलमा पुग्ने पहिलो टोली बन्नेछ। पराजित भए पनि उसको सम्भावना कामयै रहनेछ।
यस्तै उपाधिको प्रमुख दाबेदार इंग्ल्यान्ड पराजित भएमा लगभग बाहिरिनेछ। त्यसैले इंग्ल्यान्डलाई जित्नै पर्ने दबाब छ। न्युजिल्यान्डले पहिलो खेलमा अष्ट्रेलियालाई ८९ रनले हराएको थियो भने दोस्रो खेलमा अफगानिस्तानसँग अंक बाँडेको थियो। तेस्रो खेलमा श्रीलंकालाई ६५ रनले हराएर समूहको शीर्ष स्थानमा पुगेको हो।
यता इंग्ल्यान्डले पहिलो खेलमा अफगानिस्तानलाई ५ विकेटले हराउँदा आयरल्यान्डसँग वर्षाको कारण ५ रनले पराजित भएको थियो। अष्ट्रेलियाविरूद्ध खेल हुन नसकेपछि अंक बाँडेको थियो।
अघिल्लो विश्वकपको सेमिफाइनलमा न्युजिल्यान्डले इंग्ल्यान्डलाई ५ विकेटले हराउँदै फाइनलमा पुगेको थियो।
इंग्ल्यान्डलाई सेमिफाइनल पुग्न आजको खेलमा जित्नै पर्ने हुन्छ। यसो हुँदा ४ खेलमा ५ अंक हुन्छ र अन्तिम खेलमा शनिबार श्रीलंकालाई हराएर ७ अंकका साथ सेमिफाइनल खेल्नसक्नेछ। इंग्ल्यान्ड आजको खेलमा पराजित हुँदा अष्ट्रेलिया सेमिफाइनलमा पुग्ने सम्भावना उच्च हुनेछ। अष्ट्रेलिया ५ अंकका साथ दोस्रो स्थानमा छ। अन्तिम खेल अष्ट्रेलियाले शुक्रबार अफगानिस्तानसँग खेल्नेछ।
न्युजिल्यान्ड ३ खेलमा २ मा जितसहित ५ अंकका साथ शीर्ष स्थानमा छ। अष्ट्रेलिया ४ खेलमा २ मा जित, १ मा हार र १ खेलमा ५ अंकका साथ नेटरनरेटको कारण दोस्रो स्थानमा छ ।
इंग्ल्यान्ड ३ खेलमा १ मा जित, १ मा हार र १ खेल रद्ध हुँदा ३ अंकका साथ तेस्रो स्थानमा छ । आयरल्यान्ड ४ खेलमा १ मा जित, २ मा हार र १ खेलमा अंक बाँड्दै चौथो स्थानमा छ । अफगानिस्तान ३ खेलमा १ मा हार र दुई खेलमा अंक बाँड्दै पाँचौं स्थानमा छ । श्रीलंका ३ खेलमा १ मा जित र २ मा हार सहित पुछारमा छ ।