प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा प्रदेश एकका अंकित सुवेदीले मंगलबार शतक प्रहार गरेका छन्।
यो जारी प्रतियोगिताको दोस्रो शतक हो। यसअघि नेपाल पुलिस क्लबका दीपेन्द्रसिंह ऐरीले जारी प्रतियोगितामा पहिलो शतक हिर्काएका थिए।
कीर्तिपुर मैदानमा भएको समूह ‘बी’ को खेलमा अंकितले बागमती प्रदेशविरुद्ध शतक हिर्काएका हुन्।
अंकितको शतक प्रेरित प्रदेश एकले टस जितेर पहिले ब्याटिङ गर्दा अन्तिम एक बल खेल्न छदा अलआउट हुने क्रममा ३०४ रन जोड्यो। अंकितले ११० रन जोड्ने क्रममा १३४ बलमा १२ चौका र १ छक्का हिर्काए।
प्रदेश एकका लागि अंकितसँगै कप्तान सिद्धान्त लोहनीले पनि उत्कृष्ट ब्याटिङ गरे। उनले ४० बलमा ७२ रनको योगदान दिए। सिद्धान्तले ३ चौका र ८ छक्का हिर्काएका थिए।
बलिङमा बागमती प्रदेशका रामनरेश गिरीले ५ विकेट लिए।
यता मुलपानी मैदानमा भएको समूह ‘ए’ को खेलमा एपिएफविरुद्ध सुदूरपश्चिम ६७ रनमै अलआउट भएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको सुदूरका लागि कप्तान राजु रिजालले २४ रन जोड्दा अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए।
बलिङमा एपिएफका भुवन कार्कीले ४ विकेट लिँदा कमलसिंह ऐरी र मौसम ढकालले २-२ विकेट लिएका छन्।