प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले लगातार दोस्रो खेलमा जित निकालेको छ।
मुलपानी मैदानमा मंगलबार भएको समूह ‘ए’ को खेलमा एपिएफले सुदूरपश्चिमलाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्यो। यसअघि एपिएफले त्रिभुवन आर्मी क्लबलाई हराएको थियो।
सुदूरपश्चिमले दिएको ६८ रनको लक्ष्य एपिएफले ११.२ ओभरमा बिनाविकेटको क्षतिमा पूरा गर्यो। उसका लागि आसिफ शेखले नटआउट ४२ रन र प्रदीप ऐरीले नटआउट २५ रन जोडे।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम ६७ रनमै अलआउट भएको थियो।
सुदूरका लागि कप्तान राजु रिजालले २४ रन जोड्दा अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए।
बलिङमा एपिएफका भुवन कार्कीले ४ विकेट लिँदा कमलसिंह ऐरी र मौसम ढकालले २-२ विकेट लिए।
यता समूह ‘बी’ को खेलमा प्रदेशले एकले जित निकालेको छ। पहिलो खेलमा पुलिससँग पराजित प्रदेश एकले दोस्रो खेलमा बागमती प्रदेशलाई ६९ रनले पराजित गर्यो।
प्रदेश एकले दिएको ३०५ रनको लक्ष्य पछ्याएको बागमती ४५.५ ओभरमा २३५ रनमा अलआउट भयो।
बागमतीका लागि नन्दन यादवले ४३ रन जोड्दा इशान पाण्डे ३५ रन बटुले। रामनरेश गिरीले नटआउट २८ रन बटुले।
बलिङमा प्रदेश एकका श्रवण यादवले ३ विकेट लिए भने फिर्दोस अन्सारी, दीपक जोशी र सिद्धान्त लोहनीले २-२ विकेट हात पारे।
त्यसअघि प्रदेश एकका अंकित सुवेदीले मंगलबार शतक प्रहार गरे। यो जारी प्रतियोगिताको दोस्रो शतक हो। यसअघि नेपाल पुलिस क्लबका दीपेन्द्रसिंह ऐरीले जारी प्रतियोगितामा पहिलो शतक हिर्काएका थिए।
अंकितको शतक प्रेरित प्रदेश एकले टस जितेर पहिले ब्याटिङ गर्दा अन्तिम एक बल खेल्न छदा अलआउट हुने क्रममा ३०४ रन जोड्यो। अंकितले ११० रन जोड्ने क्रममा १३४ बलमा १२ चौका र १ छक्का हिर्काए।
प्रदेश एकका लागि अंकितसँगै कप्तान सिद्धान्त लोहनीले पनि उत्कृष्ट ब्याटिङ गरे। उनले ४० बलमा ७२ रनको योगदान दिए। सिद्धान्तले ३ चौका र ८ छक्का हिर्काएका थिए।
बलिङमा बागमती प्रदेशका रामनरेश गिरीले ५ विकेट लिए।