आइसिसी टी-२० विश्वकपमा इंग्ल्यान्डले न्युजिल्यान्डलाई पराजित गरेको छ। मंगलबार ब्रिसबेनमा भएको खेलमा इंग्ल्यान्डले २० रनको जित हात पारेको हो।
इंग्ल्यान्डको जितसँगै समूह-१ मा तीन टिमको अन्तिम खेलअघि समान ५-५ अंक भएको छ। चार चार खेल खेलिसकेका शीर्ष स्थानको न्युजिल्यान्ड, दोस्रो स्थानको इंग्ल्यान्ड र तेस्रो स्थानको अस्ट्रेलियाको ५-५ अंक छ। चौथो स्थानको श्रीलंकाको ४ अंक छ।
अब अन्तिम चरणको खेलपछि अन्तिम चारमा पुग्ने दुई टिमको टुंगो लाग्नेछ। अब अन्तिम चरणमा आयरल्यान्ड-न्युजिल्यान्ड, अस्ट्रलिया- अफगानिस्तान र इंग्ल्यान्ड-श्रीलंका भिड्नेछन्।
मंगलबार इंग्ल्यान्डले दिएको १८० रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ६ विकेटको क्षतिमा १५९ रन मात्र जोड्न सक्यो। उसका लागि ग्लेन फिलिप्सले ६२ रन र केन विलियमसनले ४० रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन।
बलिङमा इंग्ल्यान्डका क्रिस ओएक्स र साम कुरानले २-२ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ६ विकेट क्षतिमा १७९ रन जोड्यो। उसका लागि ओपनर जोस बटलरले ७३ रन र एलेक्स हल्सले ५२ रनको योगदान गरे।
बलिङमा न्युजिल्यान्डका लकी फर्ग्युसनले २ विकेट हात पारे।