प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।
लगातार तेस्रो जितसँगै पुलिस अन्तिम चारमा पुगेको हो। समूह 'बी' को पुलिसले तेस्रो खेलमा लुम्बिनी प्रदेशलाई ६ विकेट हरायो।
लुम्बिनीले दिएको १८९ रनको लक्ष्य पुलिसले ३७.१ ओभरमा ४ विकेट गुमाएर पार गर्यो। पुलिसको जितमा कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४३ रन जोडे।
बलिङमा लुम्बिनीका अनिल खरेलले २ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी ४४.२ ओभरमा १८८ रनमा अलआउट भयो। उसका लागि कप्तान देव खनालले ७४ रन जोडे। उनले ८८ बलमा ७ चौका र २ छक्का हिर्काए।
बलिङमा पुलिसका कप्तान दीपेन्द्रले ४ विकेट लिए।
यता यही समूहको अर्को खेलमा मधेशले प्रदेश एकलाई ७२ रनले हरायो।
पहिले ब्याटिङ गरेको मधेश ४८.१ ओभरमा २१४ रनमा अलआउट भयो। मधेशका लगि अनिल साहले ६१ रनको योगदान दिए।
२१५ रनको लक्ष्य पछ्याएको प्रदेश एक ४३.१ ओभरमा १४२ रनमा अलआउट भयो। प्रदेश एकका लागि लभ कामताले २९ रन र विवेक मेहताले २५ रन जोडे।
बलिङमा मधेशका अदिल अन्सारी, रुपेश सिंह र प्रदीप पासवानले २-२ विकेट लिए।
समूहमा पुलिस तीन खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको मधेशको एक खेलबाट २ अंक भएको छ। लुम्बिनीको दुई खेलबाट २ अंक र प्रदेश एकको तीन खेलबाट २ अंक छ। बागमतीले खेलेका तीनै खेलमा हार बेहोरेको छ।