अष्ट्रेलियामा जारी पुरूष टी–२० विश्वकप २०२२ निकै रोमाञ्चक भइरहेको छ।
यहाँ हरेक दिन दर्शकले रोमाञ्चक खेल हेर्न पाइरहेका छन्। सुपर-१२ को अन्तिम खेल नभएसम्म सेमिफाइनलमा पुग्ने चार टोलीको टुंगो नलाग्ने भएको छ।
यसैबीच समूह २ मा रहेका सबै टिमको एक-एक खेल बाँकी रहे पनि कुन दुई टोली सेमिफाइनल पुग्ने भन्ने टुंगो छैन।
पाकिस्तानले बिहीबार दक्षिण अफ्रिकालाई ३३ रनले हराएसँगै सेमिफाइनलमा पुग्ने आशा जीवितै बनाएको छ। तुलनात्मक रूपमा समूहबाट भारत र दक्षिण अफ्रिकालाई सेमिफाइनल पुग्न सहज छ।
दक्षिण अफ्रिकासँगको हारपछि पाकिस्तान चार खेलमा दुई जित र दुई पराजयपछि चार अंकसहित तेस्रो स्थानमा पुगेको छ। समान खेलमा दक्षिण अफ्रिकाले ५ अंक जोड्दै दोस्रो स्थानमा छ।
यस्तै ४ खेलमा ३ जितसहित ६ अंक जोडेको भारत तालिकाको शीर्ष स्थानमा छ। भारतले अब अन्तिम खेल आइतबार जिम्बावेसँग खेल्नेछ। यदि यो खेल जितेर ८ अंक बनाए भारत समूह विजेताको रूपमा सेमिफाइनलमा पुग्नेछ। हारेको खण्डमा अन्य टोलीको नतिजामा भर पर्नुपर्नेछ।
यस्तै दक्षिण अफ्रिकाले समूहको अन्तिम खेलमा नेदरल्याण्डलाई हराए ७ अंकसहित सेमिफाइनलमा पुग्नेछ।
तर नेदरल्याण्डले अप्रत्यासित नतिजा निकालेमा अफ्रिका बाहिरिन सक्नेछ। यदि वर्षाले खेल रद्द भएर अंक बाँढ्नुपर्ने अवस्थामा पनि अन्य टोलीको नतिजामा भर पर्नुपर्नेछ।
यदि अफ्रिका हारेको खण्डमा पाकिस्तान र बंगलादेशमध्ये एक टोली भारतसँगै अन्तिम चारमा पुग्नेछ।
पाकिस्तानलाई सेमिफाइनलमा पुग्न आफ्नो अन्तिम खेलमा बंगलादेशलाई ठूलो अन्तरले जित्नुपर्नेछ। सोही नतिजा निकाले बंगलादेश पनि अन्तिम चारमा पुग्नेछ।
दक्षिण अफ्रिकाले नेदरल्यान्ड्ससँगको अन्तिम खेल हारेमा उसको पाँच अंक मात्रै हुनेछ भने पाकिस्तान र बंगलादेशको विजेतासँग ६ अंक हुनेछ।
सेमिफाइनल पुग्न कसको सम्भावना कस्तो?
भारत
आफ्नो अन्तिम खेलमा जिम्बावेलाई हराए समूह विजेता भएर सेमिफाइनलमा पुग्नेछ। वर्षाले खेल रोकिएर अंक बाढ्नुपरे पनि सेमिफाइनल पक्का हुनेछ।
यदि हारेको खण्डमा पनि उसको सम्भावना कायमै रहनेछ। यसका लागि भारतले पाकिस्तान र बंगालादेशबीच हुने खेल पर्खनुपर्ने हुन्छ। यो खेलको विजेतालाई रनरेटमा पछि पार्न सके भारत अन्तिम चारमा पुग्नेछ।
दक्षिण अफ्रिका
आफ्नो अन्तिम खेलमा नेदरल्याण्डलाई हराए सेमिफाइनलमा पुग्नेछ। यदि वर्षाले खेल रोकिएर अंक बाढ्नुपर्ने अवस्थामा भने भन्य टोलीको नतिजामा भर पर्नुपर्नेछ। तर हार व्यहोरेको खण्डमा बाहिरिनेछ।
पाकिस्तान
आफ्नो अन्तिम खेलमा बंगलादेशलाई फराकिलो अन्तरमा हराएर मात्र पुग्दैन अन्य टोलीमा भर पर्नुपर्नेछ। पाकिस्तानलाई सेमिफाइनल पुग्न भारत र दक्षिण अफ्रिकामध्ये कुनै एक टोलीले हार्नैपर्ने हुन्छ। या दक्षिण अफ्रिका र नेदरल्याण्डबीचको खेल वर्षाले रद्द हुनुपर्छ। यस्तै अवस्थामा ६ अंक भएर राम्रो रनरेटको आधारमा पाकिस्तान अन्तिम चारमा पुग्नेछ। अन्य नतिजाले पाकिस्तान बाहिरिनेछ।
बंगलादेश
आफ्नो अन्तिम खेलमा पाकिस्तानलाई फराकिलो अन्तरमा हराएर मात्र पुग्दैन अन्य टोलीमा भर पर्नुपर्ने हुन्छ। बंगलादेशलाई सेमिफाइनलमा पुग्न भारत र दक्षिण अफ्रिका दुबैले आफ्नो खेल हार्नुपर्ने हुन्छ। या दक्षिण अफ्रिका र नेदरल्याण्डबीचको खेल वर्षाले रद्द हुनुपर्छ। यस्तै अवस्थामा ६ अंक भएर राम्रो रनरेटको आधारमा बंगलादेश सेमिफाइनलमा पुग्नेछ। अन्य नतिजाले बंगलादेश बाहिरिनेछ।
समूहमा रहेका जिम्बावे र नेदरल्याण्डको सेमिफाइनल यात्रा टुंगिसकेको छ। जिम्बावेले चार मध्ये १ खेल जितेको छ भने २ खेलमा अंक बाढ्न बाध्य थियो। यसबाट ३ अंक जोडेर पाँचौ स्थानमा छ। यस्तै समूहको पुछारमा रहेको नेदरल्याण्डले ४ मध्ये १ खेल जितेर २ अंक जोडेको छ।
भारत र पाकिस्तान
यो विश्वकपमा अझै पनि भारत र पाकिस्तान दुबै सेमिफाइनलमा पुग्नसक्छन्। भारतले पहिलो खेलमा जिम्बावेलाई हराएमा उ समूह विजेताको रूपमा सेमिफाइनलमा पुग्नेछ। यस्तै अर्को खेलमा दक्षिण अफ्रिका नेदरल्याण्डसँग पराजित हुँदा पाकिस्तानले बंगलादेशलाई हराएमा भारतसँगै सेमिफाइनल पुग्नेछ।
यस्तै दक्षिण अफ्रिका र नेदरल्याण्डबीचको खेल वर्षाले रद्द हुँदा ६ अंक जोडेको अफ्रिकालाई रनरेटमा पछि पार्दै पाकिस्तान सेमिफाइनलमा पुग्नेछ।
यदि यस्तो भएको खण्डमा फाइनलमा यी दुई टोलीको भेट हुने सम्भावना रहन्छ।
अंक तालिका