अस्ट्रेलियामा जारी आइसिसी टी-२० विश्वकपमा आयरल्यान्डका जोश लिटलले ह्याट्रिक गरेका छन्।
उनले शुक्रबार समूह-१ को खेलमा न्युजिल्यान्डविरुद्ध ह्याट्रिक विकेट लिएका हुन्।
उनले १८.२ ओभरमा केन विलियमसनलाई ६१ रनमा क्याच गराए।
अर्को बलमा जिमी निसमलाई उनले एलबिडब्लूको धरापमा पारे।
चौथो बलमा मिचेल सान्टनरलाई पनि एलबिडब्लूको धरापमा पारेपछि उनले विश्वकपमा ह्याट्रिक लिने इतिहास बनाए।
टी-२० विश्वकपमा यो छैठौं ह्याट्रिक हो। सन् २००७ को पहिलो संस्करणको विश्वकपमा अस्ट्रेलियाका ब्रेट लीले बंगलादेशविरुद्ध ह्याट्रिक गर्दै इतिहास बनाएका थिए।
लिटलले ह्याट्रिक गरे पनि न्युजिल्यान्डले ६ विकेटको क्षतिमा १८५ रन जोड्यो। उसका लागि विलियमसनले ६१ रन जोड्दा फिन एलनले ३२ रन र ड्यारल मिचलले ३१ रनको योगदान दिए।
अहिले आयरल्यान्ड १८६ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको छ।