न्युजिल्यान्ड आइसिसी टी-२० विश्वकप २०२२ को सेमिफाइनल नजिक पुगेको छ।
समूह-१ को आफ्नो अन्तिम खेलमा आयरल्यान्डलाई ३५ रनले पराजित गर्दै न्युजिल्यान्डले अन्तिम चारमा स्थान लगभग पक्का गरेको हो।
समूह चरणको अन्तिम खेलमा जित हात पारेसँगै न्युजिल्यान्डले ५ खेलबाट ७ अंक जोडेको छ।
अब ५-५ अंक जोडेका इंग्ल्यान्ड र अस्ट्रेलिया, ४ अंक जोडेको श्रीलंकाको पनि अन्तिम चारको सम्भावना छ।
आज अस्ट्रेलिया र अफगानिस्तान तथा भोलि इंग्ल्यान्ड र श्रीलंका भिड्दैछन्। यी दुई खेलमा अस्ट्रेलिया र इंग्ल्यान्डले जित निकाले उनीहरूको ७ अंक हुनेछ। तर रनरेटमा भने न्युजिल्यान्ड अघि छ। दुवैले ठूलो अन्तरको जित निकाले मात्र न्युजिल्यान्डलाई पछि पार्न सक्नेछन्।
शुक्रबार न्युजिल्यान्डले दिएको १८६ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले ९ विकेटको क्षतिमा १५० रन मात्र जोड्न सक्यो। उसका लागि पाउल स्टर्लिङले सर्वाधिक ३० रन जोडे। बलिङमा न्युजिल्यान्डका लकी फर्ग्युसनले ३ विकेट लिए।
पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ६ विकेटको क्षतिमा १८५ रन जोड्यो। उसका लागि केन विलियमसनले ६१ रन जोड्दा फिन एलनले ३२ रन र ड्यारल मिचलले ३१ रनको योगदान दिए।
खेलमा आयरल्यान्डका जोश लिटलले ह्याट्रिक गरे। उनले १८.२ ओभरमा केन विलियमसनलाई ६१ रनमा क्याच गराए। अर्को बलमा जिमी निसमलाई उनले एलबिडब्लूको धरापमा पारे।
चौथो बलमा मिचेल सान्टनरलाई पनि एलबिडब्लूको धरापमा पारेपछि उनले विश्वकपमा ह्याट्रिक लिने इतिहास बनाए।
टी-२० विश्वकपमा यो छैठौं ह्याट्रिक हो। सन् २००७ को पहिलो संस्करणको विश्वकपमा अस्ट्रेलियाका ब्रेट लीले बंगलादेशविरुद्ध ह्याट्रिक गर्दै इतिहास बनाएका थिए।