प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगिताअन्तर्गत समूह 'ए' को खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ।
शुक्रबार भएको खेलमा आर्मीले सुदूरपश्चिममाथि १६९ रनको फराकिलो अन्तरको जित हात पार्यो।
जारी प्रतियोगितामा दुई खेल खेलेको यो पहिलो जित हो। कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ८ विकेटको क्षतिमा २८२ रन जोड्यो।
आर्मीका लागि अर्जुन साउदले ७३ रन जोडे भने रोहित पौडेलले ५२ रन र कुशल मल्लले ४३ रनको योगदान दिए।
बलिङमा सुदूरका हेमन्त धामी, नारायण जोशी र गजेन्द्र बोहराले २-२ विकेट हात पारे।
२८३ रनको लक्ष्य पछ्याएको सुदूर २९.४ ओभरमा ११३ रनमा अलआउट भयो। उसका लागि विशान्त खत्रीले सबैभन्दा बढी २५ रन जोडे।
बलिङमा आर्मीका जितेन्द्र मुखियाले ३ विकेट लिए भने विक्रम शोव र सहाब अलामले २-२ विकेट लिन सफल भए।
यता यहि समूहको अर्को खेलमा एपिएफ र गण्डकीबीचको खेलमा स्कोर बराबरी भएका कारण दुवै टिमले एक एक अंक बाँडेका छन्।
पहिले ब्याटिङ गरेको एपिएफ ३५.१ ओभरमा ११५ रनमा अलआउट भयो। एपिएफका लागि भुवन कार्कीले नटआउट २४ रन जोड्दा लोकेश बम र सन्दीप जोराले २२-२२ रन बटुले। पुरन विकले २३ रनको योगदान दिएका थिए।
बलिङमा गण्डकीका अमृत गुरुङ र अर्जुन कुमालले ३-३ विकेट हात पारे। सुवास भण्डारीले २ विकेट लिन सफल भए।
यता गण्डकी पनि ३१ ओभरमा ११५ रनमै अलआउट भयो। जितका लागि १ रनमा चाहिएको अवस्थामा गण्डकीका दशौं नम्बरका ब्याट्सम्यान कमल परियार एपिएफका मौसम ढकालबाट बोल्ड भएका थिए।
गण्डकीका लागि अर्जुन कुमालले १८ रन जोड्दा अभिषेक बस्नेतले २४ रन बटुले। बलिङमा एपिएफका किशोर महतो र मौसम ढकालले ४-४ विकेट लिए।
समूहमा तीन तीन खेल खेलेका एपिएफ र गण्डकीको ५-५ अंक छ। आर्मीको २ खेलबाट २ अंक जोडेको छ।