आइसिसी टी-२० विश्वकप २०२२ मा न्युजिल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ।
शुक्रबार न्युजिल्यान्डले आयरल्यान्डलाई हराउँदै समूह-१ मा ७ अंक जोडेको थियो। लगत्तै भएको खेलमा अस्ट्रेलियाले अफगानिस्तानविरुद्धको खेलमा न्युजिल्यान्डलाई पछि पार्नु पर्ने रनरेटमा रन जोड्न सकेन। जसका कारण न्युजिल्यान्ड अन्तिम चारमा पुग्यो।
अस्ट्रेलियाले शुक्रबार अफगानिस्तानलाई ४ रनले हराउँदै ७ अंक नै जोड्यो। तर रनरेटमा शीर्ष स्थानको न्युजिल्यान्डलाई पछि पार्न सकेन।
अब शनिबार इंग्ल्यान्ड र श्रीलंकाबीचको खेलपछि समूह-१ बाट अन्तिम चारमा पुग्ने अर्को टिमको टुंगो लाग्नेछ।
इंग्ल्यान्डलाई अन्तिम चारमा पुग्न जित आवश्यक छ। जित हात पारे इंग्ल्यान्डले रनरेटमा अस्ट्रेलियालाई पछि पार्नेछ। इंग्ल्यान्ड पराजित भएको अवस्थामा मात्र अस्ट्रेलिया अन्तिम चारमा पुग्नेछ।
समूह चरणका सबै खेल खेलेका न्युजिल्यान्ड र अस्ट्रेलियाको ७-७ अंक छ। एक खेल खेल्न बाँकी इंग्ल्यान्डको ५ अंक छ। रनरेटमा न्युजिल्यान्ड सहज अवस्थामा रहदा अस्ट्रेलिया इंग्ल्यान्डभन्दा कमजोर अवस्थामा छ।
शुक्रबार एडिलेड अफगानिस्तानविरूद्ध टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ८ विकेटको क्षतिमा १६८ रन जोड्यो। उसका लागि ग्लेन म्याक्सवेलले नटआउट ५४ रन जोड्यो। उनले ३२ बलमा ६ चौका र २ छक्का हिर्काए। मिचेल मार्सले ३० बलमा ४५ रन बटुले।
बलिङमा अफगानिस्तानका नवीन उलहकले ३ विकेट लिए भने फजालहक फारुकीले २ विकेट लिए।
१६९ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २० ओभरमा ७ विकेटको क्षतिमा १६४ रन जोड्यो।
अफगानिस्तानका लागि रासिद खानले नटआउट ४८ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन। उनले २३ बलमा ३ चौका र ४ छक्का हिर्काए।अन्तिम ओभरमा जितका लागि २२ रन चाहिएको अवस्थामा रासिदले १६ रन जोडेका थिए।
बलिङमा अस्ट्रेलियाका जोश हजलउड र एडम जाम्पाले २-२ विकेट लिए।