अष्ट्रेलियामा जारी आइसिसी टी-२० विश्वकप २०२२ मा सुपर १२ का अन्तिम खेलहरू आज हुँदैछन्।
पहिलो खेलमा दक्षिण अफ्रिका र नेदरल्याण्ड भिडिरहेका छन् भने दोस्रो खेलमा पाकिस्तानले बंगलादेशको सामना गर्नेछ। यस्तै तेस्रो खेलमा भारतले जिम्बावेसँग खेल्नेछ।
६ टोली रहेको समूह २ बाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। नेदरल्याण्ड्सलाई हराएमा दक्षिण अफ्रिका ७ अंक जोड्दै अन्तिम चारमा पुग्नेछ। यदि नेदरल्याण्डसँग अफ्रिका हारेमा प्रतियोगिताबाट बाहिरिनेछ।
यस्तै आजै नेपाली समय अनुसार बिहान ९: ४५ मा एडिलेड ओभलमा सुरू हुने दोस्रो खेलमा बंगलादेश र पाकिस्तान भिड्नेछन्।
पाकिस्तान र बंगलादेश दुबैको सुपर १२ को ४ खेलबाट समान २ मा जित र समान २ मा हारसहित ४-४ अंक छ। रन रेटका आधारमा पाकिस्तान तेस्रो स्थान रहँदा बंगलादेश चौथोमा छ।
यो खेलमा पाकिस्तान विजयी भए ६ अंक हुनेछ। उसलाई सेमिफाइनलमा पुग्न भारत र दक्षिण अफ्रिका मध्ये एकले हार्नुपर्ने हुन्छ। यदि पहिलो खेलमा अफ्रिका हारेमा पाकिस्तान अन्तिम चारमा पुग्नेछ। तर अफ्रिका जितेमा आजै दिउँसो ४: ४५ बजे भारत र जिम्बावेबीचको खेल पर्खनुपर्नेछ।
यदि भारत पराजित भएमा मात्र पाकिस्तान सेमिफाइनलमा पुग्नेछ। अन्यथा जितको बाबजुद बाहिरिनेछ।
पाकिस्तान पहिलो खेलमा भारतसँग चार विकेट र दोस्रो खेलमा जिम्बावेसँग एक रनले पराजित भएको थियो। पाकिस्तानले त्यसपछि नेदरल्यान्ड्सलाई ६ विकेट र दक्षिण अफ्रिकालाई ३३ रनले हराएको थियो।
यस्तै बंगलादेशले पनि अन्तिम खेलमा पाकिस्तानलाई हराएमा झिनो आशा रहन्छ। यदि पाकिस्तानलाई फराकिलो अन्तरमा हराउँदा भारत र अफ्रिकामध्ये कुनै एक टोली हारेमा सेमिफाइनल पुग्नसक्छ।
सुपर १२ को समूह ए बाट न्यूजिल्यान्ड समूह विजेता र इंग्ल्यान्ड उपविजेता हुँदै सेमिफाइनलमा पुगेका छन्।