अष्ट्रेलियामा जारी आइसिसी टी-२० विश्वकपको सेमिफाइनल समिकरण पूरा भएको छ। आइतबार सुपर १२ का सबै खेल सकिएसँगै सेमिफाइनलमा पुग्ने दुवै समूहका शीर्ष २ वटा टोली छानिएका छन्।
समूह १ बाट न्युजिल्यान्ड समूह विजेता बन्दा इंग्ल्यान्ड उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ। यस्तै समूह २ बाट भारत समूह विजेता बन्दा पाकिस्तान समूहको उपविजेता बन्दै अन्तिम ४ मा प्रवेश गरेको छ।
अब सेमिफाइनलमा समूह २ को विजेता भारतले समूह १ को उपविजेता इंग्ल्यान्डसँग खेल्नेछ। यस्तै समूह २ को उपविजेता पाकिस्तानले समूह १ को विजेता न्युजिल्यान्डको सामना गर्नेछ।
समूह १ मा न्युजिल्यान्ड, इंग्ल्यान्ड र अष्ट्रेलियाको समान ७-७ अंक भए पनि नेट रनरेटका आधारमा शीर्ष दुई टोली अघि बढेका हुन्।
घरेलु टोली अष्ट्रेलिया र इंग्ल्यान्डबीचको खेल वर्षाले रद्द हुँदा समूहको समिकरणमै असर परेको थियो। श्रीलंकाले ४ अंक जोड्दा आयरल्याण्डले ३ र अफगानिस्तानले २ अंक जोडेर विश्वकपको यात्रा टुङ्ग्याए।
यस्तै समूह २ मा भारतले ५ खेलमा ४ जितसहित ८ अंक जोड्यो। पाकिस्तानले ३ जितसहित ६ अंक जोड्यो।
आइतबार बिहान अप्रत्यासित रूपमा नेदरल्यान्ड्ससँग दक्षिण अफ्रिका पराजित हुँदा नाटकीय ढंगले सेमिफाइनल नपुग्दै बाहिरियो। अफ्रिकाले ५ खेलमा समान ५ अंक जोडेको थियो।
नेदरल्यान्ड्सले समान ४ अंक जोडेको बंगलादेशलाई रनरेटमा पछि पार्दै चौथो स्थानमा रहेर विश्वकपको यात्रा टुङ्ग्यायो। अन्तिम खेलमा भारतसँग हारेको जिम्बावेले ३ अंक जोड्दै पुछारमा रहेर विश्वकप यात्रा टुंग्यायो।
अब फाइनल प्रवेशका लागि आगामी बुधबार न्यूजिल्याण्ड र पाकिस्तान सिड्नीमा खेल्नेछन्। यस्तै सेमिफाइनलको अन्तिम खेलमा बिहिबार एडिलेडमा भारत र इङ्ल्याण्ड भिड्नेछन्।
यी दुबै खेलको विजेताले आगामी आइतबार मेनबर्नमा फाइनल खेल्नेछन्।