श्रीलंकाली क्रिकेट बोर्डले धनुष्का गुनाथिलाकालाई निलम्बन गरेको छ।
श्रीलंका क्रिकेटले गम्भीर आरोप लागेका गुणातिलकालाई सबै प्रकारका क्रिकेटबाट सोमबारबाट निलम्बन गरेको हो।
यसैबीच श्रीलंका क्रिकेट बोर्डले यस विषयमा छानबिन समेत गर्ने भएको छ।
अष्ट्रेलियामा उनी दोषि ठहरिए उनलाई थप कारबाहीसमेत गर्ने बोर्डले जनाएको छ।
‘श्रीलंका क्रिकेट खेलाडीको यस्तो कुनै पनि आचरणको लागि शून्य सहनशीलता नीति अपनाउने कुरामा जोड दिन चाहन्छ र घटनाको निष्पक्ष छानबिन गर्न अष्ट्रेलियाली कानून र प्रहरीलाई आवश्यक सबै सहयोग उपलब्ध गराउनेछ’, बोर्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
टी–२० विश्वकपका लागि अष्ट्रेलिया पुगेका गुणातिलकालाई आइतबार अष्ट्रेलिया प्रहरीले बलात्कारको आरोपमा पक्राउ गरेको थियो।
अष्ट्रेलियाली प्रहरीका अनुसार गुणातिलकाविरूद्ध २९ वर्षीया महिलाले बलात्कारको उजुरी दिएकी थिइन्।
गुनाथिलाकालाई प्रहरीले सिड्नीको सेन्ट्रल बिजनेस डिस्ट्रिक्टस्थित टोली रहेको होटलबाटै स्थानीय समय अनुसार आइतबार दिउँसो १ बजे पक्राउ गरेको थियो।
प्रहरीका अनुसार रोज बेमा बुधबार गुनाथिलाकाले एक २९ वर्षीया महिलामाथि यौन दुर्व्यवहार गरेका थिए।
ती महिलाको उजुरी पछि थप छानबिन गर्न ३१ वर्षीय धनुष्कालाई नियन्त्रणमा लिएर सिड्नी सिटी प्रहरी चौकीमा राखिएको थियो। उनलाई आजै डाउनिङ सेन्टरको स्थानीय अदालतमा पेश गर्ने प्रहरीले तयारी गरेको छ।
‘महिलाले एक अनलाइन डेटिङ एप्लिकेसनमार्फत धेरै दिनसम्म उनीसँग कुराकानी गरेपछि धनुष्काले उनले भेटेका थिए।
त्यसपछि बुधबार साँझ उसले यौन दुव्र्यवहार गरेको आरोप महिलाले लगाएकी छन्’, न्यू साउथ वेल्स प्रहरीले भनेको छ।
उनीमाथि ती महिलाले आफ्नो सहमति बिना चार पटकसम्म बलात्कार गरेको आरोप लगाएकी छन्।
प्रहरीले जमानत दिन अस्वीकार गरेपछि श्रीलंकाका खेलाडीहरू उनी बिनानै स्वदेश फर्किएका थिए।
गुनाथिलका ह्यामस्ट्रिङको चोटका कारण टी–२० विश्वकपको पहिलो चरणबाट बाहिरिएका थिए। उनको स्थानमा एशेन बन्दाराले खेलेका थिए। तर पनि उनी अष्ट्रेलियामै रहेका थिए।
सुपर १२ बाट बाहिरिएको श्रीलंकाको टोली उनी बिना नै आइतबार बिहान स्वदेश प्रस्थान गरेको छ।
नोभेम्बर २०१५ मा आफ्नो अन्तर्राष्ट्रिय डेब्यू गरेदेखि उनले श्रीलंकाका लागि ८ टेस्ट, ४७ एकदिवसीय र ४६ टी-२० खेलेका छन्।
धनुष्काले अहिलेसम्म ८ टेष्ट खेलमा १८.६९ को औसतमा कुल २९९ रन बनाएका छन्। यस्तै ४७ ओडीआई खेलेका उनले ४६ इनिङमा ३५.५८ को औसतमा कुल १६०१ रन बनाएका छन्। यस क्रममा उनको ब्याटले २ शतक र ११ अर्धशतक पनि प्रहार गरेको थियो।
यस्तै उनले ४६ टी–२० खेलका ४५ इनिङ्समा १६.४७ को औसत र १२०.४९ को स्ट्राइक रेटमा कुल ७४१ रन बनाएका छन्। धनुष्काको नाममा टी–२० मा ३ अर्धशतक पनि छ।