विराट कोहली अक्टोबर महिनाका लागि प्लेयर अफ दी मन्थ घोषणा भएका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले अक्टोबर महिनाको प्लेयर अफ द मन्थको अवार्ड भारतीय ब्याटर विराट कोहलीलाई दिने घोषणा गरेको छ।
दक्षिण अफ्रिकाविरूद्धको टी–२० सिरिज र टी–२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका कोहलीले यो अवार्ड पाएका हुन्।
कोहलीले जिम्बाब्वेका सिकन्दर राजा र दक्षिण अफ्रिकाका डेभिड मिलरलाई पछि पारेका हुन्।
प्लेयर अफ द मन्थको अवार्ड जितेपछि कोहलीले आफ्नो लागि यो ठूलो सम्मानको कुरा भएको बताए।
‘विश्वभरका फ्यान र प्यानलहरूद्वारा स्ट्यान्डआउट खेलाडीको रूपमा छनोट हुनुले यो सम्मान मेरो लागि अझ विशेष बनाउँछ’, उनले भने, ‘म अन्य मनोनित खेलाडीलाई पनि बधाई दिन चाहन्छु जसले यो महिनामा राम्रो प्रदर्शन गरेका छन्। साथै म मेरा सहकर्मीलाई धन्यवाद दिन चाहन्छु जसले मलाई सधैं मेरो राम्रो गर्न सहयोग गरे।’
कोहलीले गत महिना क्रिकेटको सबैभन्दा छोटो ढाँचा टी-२० मा उत्कृष्ट प्रदर्शन गरेका छन्। उनले पाकिस्तानविरूद्ध टी–२० विश्वकपको पहिलो खेलमा अविजित ८२ र बनाएका थिए। उनी एक्लैले भारतलाई जित दिलाएको खेलमा पाकिस्तानविरुद्ध ३१ रनमा चार विकेट गुमाएका भारतलाई सम्हालेका थिए।
एक समयमा जितबाट बाहिरिसकेको भारतका लागि कोहलीको इनिङ्समा १६० रनको लक्ष्य अन्तिम बलमा पुरा गरेको थियो। कोहलीले ५२ बल खेल्नै ८२ रन बनाएका थिए।
टी–२० विश्वकपमा नेदरल्याण्डविरुद्ध पनि कोहलीले अर्धशतक बनाएका थिए। नेदरल्याण्डविरूद्धको दोस्रो खेलमा कोहलीले ४४ बलमा अविजित ६२ रन बनाएका थिए।
यसबाहेक कोहलीले दक्षिण अफ्रिकाविरुद्ध गुवाहटीमा खेलेको घरेलु टी–२० सिरिज अन्तर्गत दोस्रो खेलमा २८ बलमा अविजित ४९ रन बनाएका थिए। जसका कारण भारतले दक्षिण अफ्रिकामाथिको टी–२० सिरिज जितेको थियो।
कोहली यस टी–२० विश्वकपमा हालसम्म दुई पटक प्लेयर अफ द म्याच बनेका छन्। उनको इनिङ्सका कारण भारत सेमिफाइनलमा पुगेको हो। कोहली अहिले प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडी पनि हुन्।
उनले अहिलेसम्म पाँच खेलमा १२३ को औसत र १३८.९८ को स्ट्राइक रेटमा २४६ रन बनाएका छन्। जसमा तीन अर्धशतक समावेश छ। अब नोभेम्बर १० मा भारतले टी–२० विश्वकपको सेमिफाइनलमा इंग्ल्याण्डसँग खेल्नेछ।
यस्तै महिला तर्फको अवार्ड पाकिस्तानकी अलराउन्डर निदा दारले पाइन्। उनले भारतका जेमिमाह रोड्रिग्ज र दिप्ती शर्मालाई पछि पारेकी हुन्।