राजधानीमा जारी प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशलाई बराबरी रनमा रोक्दै मधेश प्रदेश सेमिफाइनलमा प्रवेश गरेको छ।
त्रिवी क्रिकेट मैदान कीर्तिपुरमा सोमबार बागमती प्रदेशलाई बराबरीमा रोक्दै मधेश प्रदेश अन्तिम चारमा प्रवेश गरेको हो।
मधेशले दिएको १९१ रनको लक्ष्य पछ्याएको बागमती अन्तिम चार बल बाँकी छँदै १९० रनमा समेटिएको थियो।
उसका लागि पृथु बाँस्कोटाले सर्वाधिक ४० रन बनाउँदा रित गौतमले ३२, ईशान पाण्डेले ३१, सूर्य तामाङले २८ र विवेक मगरले २५ रन बनाए। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बागमतीलाई बराबरीमा रोक्न मधेशका राजेश यादव र प्रदीप पासवानले समान ३-३ विकेट लिए। रूपेश सिंहले २ तथा हरिशंकर साहले १ विकेट हात पारे।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मधेशले ४६.२ ओभरमा अलआउट हुँदै १९० रन बनाएको थियो। उसका लागि रोहन विकेले सर्वाधिक ६३ रन बनाए। सन्तोस कार्कीले २३, राजेश यादवले १६, हरिशंकर साहले १३, विशाल सुसलिङले ११ तथा अनिल साहले १० रन जोडेका थिए।
बागमतीका लागि नन्दन यादव र सूर्य तामाङले ३-३ विकेट लिए। यस्तै रामनरेश गिरी र प्रतिस जिसीले समान २-२ विकेट हात पारे।
यस्तै मूलपानी मैदानमा भएको समूह एको खेलमा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशमाथि पाँच विकेटको सहज जित हात पारेको छ।
जितको लागि १ सय ५१ रनको विजयी लक्ष्य पछ्याएको सुदूरले २९.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो।
सुदूरको जितको लागि ओपनर गजेन्द्र बोहराले ४१ रन बनाएका छन्। यस्तै शेर मल्ल ३४ रनमा अविजित रहे। राजु रिजालले २९ बलमा ४ चौका र १ छक्कासहित २४ रनमा अविजित रहे। टेक रावल १८, बसन्त खत्री ६, विरेन्द्र नाथ र दिपक टमाटा ९–९ रनमा आउट भए ।
कर्णालीका रविन्द्रजंग शाहीले ३ विकेट लिए। दिवान पुनले २ विकेट लिए ।
त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णाली ३८.१ ओभरमा १ सय ५० रनमा अल आउट भएको थियो।
कर्णालीका अर्जुन घर्तीले सर्वाधिक ७० रन बनाए। सुवास ऐरले २४ रन बनाउँदा हिमान्शु शाहीले १२ रन बनाए।
कप्तान रविन्द्रजंग शाही ७, विपिन रावल शून्य, विपिन शाही २, दीपेन्द्र रावत ८, प्रकाश जैशी ९, दिवान पुन १ र अनुज चनारा शून्यमा आउट भए।
सुदूरपश्चिम प्रदेशका नारायण जोशीले सर्वाधिक ४ विकेट लिए। तीव्र गतिका बलर हेमन्त धामीले ३ विकेट लिए। गजेन्द्र बोहराले २ विकेट तथा मिलन बोहराले एक विकेट लिए ।
यो सँगै सुदूर ४ खेलमा २ अंकका साथ चौथो स्थानमा रहेर बाहिरियो।
समूह ए मा एपिएफ ४ खेलमा ७ अंकका साथ सेमिफाइनलमा पुगेको छ। गण्डकी ४ खेलमा ५ अंकका साथ दोस्रो स्थानमा छ। आर्मी ३ खेलमा ४ अंकका साथ तेस्रो स्थानमा छ।
आर्मीले मंगलबार कर्णालीसँग खेल्नेछ। यदि आर्मी विजयी भए सेमिफाइनलमा पुग्नेछ। कर्णाली विजयी भएमा गण्डकी सेमिफाइनलमा पुग्नेछ।
यस्तै समूह बी बाट नेपाल पुलिस र मधेश प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन्। भोलि हुने नेपाल पुलिस र मधेश प्रदेशबीचको खेलपछि समूह विजेताको टुंगो लाग्नेछ।