राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरूष क्रिकेट प्रतियोगिताको फाइनल प्रवेशका लागि नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३ सय ५ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३ सय ४ रन बनायो।
पुलिसका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले शतकीय इनिङ खेले। उनले १ सय २५ बलमा ११ चौका र ५ छक्कासहित १४० रन बनाए।
यस्तै आरिफ शेखले अविजित रहँदै ९१ रन बनाए। करण केसी ८ रनमा अविजित रहे।
त्यसअघि कुशल भुर्तेल ३१, सुनिल धमला १३ र अमित श्रेष्ठले १० रन बनाए। आर्मीका बिक्रम सोबले ३ विकेट लिँदा सुशन भारीको नाममा १ विकेट रह्यो ।
आजको विजेताले फाइनलमा एपीएफ क्लबको सामना गर्नेछ। एपीएफ क्लब यसअघि पहिलो सेमिफाइनलमा मधेश प्रदेशलाई हराएको थियो।