काठमाडौंमा जारी प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज दुई विभागीय टोली भिड्दैछन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लबबीच बिहान ९ बजेबाट प्रतिस्पर्धा सुरू हुनेछ।
राजेश पुलामीले सम्हालिएको ब्याटिङ प्रदर्शन गरेपछि त्रिभुवन आर्मी क्लवले नेपाल पुलिस क्लवमाथि दुई विकेटको रोमाञ्चक जित निकाल्दै शुक्रबार फाइनलमा एपिएफसँगको भेट पक्का गरेको हो।
शुक्रबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पुलिसले दिएको ३ सय ५ रनको लक्ष्य आर्मीले एक बल बाँकी रहँदा आठ विकेटको क्षतीमा पूरा गरेको हो।
आर्मीको ब्याटिङका लागि सम्हालिएको इनिङ खेलेका राजेशले ३७ बलमा तीन चौका र दुई छक्का मद्दतमा अविजित ४३ रन जोडे। त्यस्तै रोहितकुमार पौडेलले ८७ बलमा नौ चौकाको मद्दतमा ८९ रन जोड्दा ओपनर हरी चौहानले ९२ बलमा आठ चौका र एक छक्काको मद्दतमा ७५ रन जोडेका थिए।
कप्तान विनोद भण्डारीले ३२ रन बनाउँदा विक्रम सोबले ३० तथा ओपनर अर्जुन साउदले ११ रनको व्यक्तिगत स्कोर बनाएका थिए। बलिङतर्फ पुलिसका करण केसी एक्लैले ६ विकेट लिए पनि टोलीको हार टार्न सकेनन्। यस्तै रासिद खान र ललित राजवंशीले समान १-१ विकेट आफ्नो नाममा लेखाए।
यसअघि टस हारेर ब्याटिङ गरेको पुलिसले पूरा ५० ओभरमा चार विकेट गुमाएर ३ सय ४ रनको योगफल तयार पारेको थियो। ६७–३ को स्थितिमा रहेको पुलिसका लागि कप्तान दिपेन्द्रसिंह ऐरी र आरिफ सेखले चौथो विकेटका लागि २ सय ४ रनको साझेदारी गरेसँगै पुलिसलाई सम्मानजनक अवस्थामा डोर्याएका थिए।
बिस्फोटक ब्याटिङ गरेका दिपेन्द्रले १ सय २५ बलमा ११ चौका र पाँच छक्काको मद्दतमा १ सय ४० रन जोडे । आरिफले १ सय ९ बलमा आठ चौका र दुई छक्का मद्दतमा अविजित ९१ रन जोडेका थिए । बलिङतर्फ आर्मीका तिब्र गतिका बलर विक्रम सोबले तीन विकेट लिए भने सुशान भारीको नाममा एक विकेट रह्यो ।
यससँगै साविक विजेता आर्मीले एपिएफसँगको भेट पक्का गरेको छ । एपिएफले यसअघि भएको पहिलो सेमिफाइनल खेलमा मधेस प्रदेशलाई हराउँदै फाइनल यात्रा तय गरेको थियो।
प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद पुरस्कार पाउने छन् भने उपविजेताले ५ लाख पाउने छन् ।