आइसिसी विश्वकप लिग-२ अन्तर्गत आजदेखि नेपाल, नामिबिया र स्कटल्यान्डबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज सुरू हुँदैछ। सात देश सहभागी लिग-२ मा नेपाल २० खेलबाट १७ अंक जोड्दै पुछारबाट दोस्रो स्थानमा छ।
शीर्ष तीनमा रहेर एकदिवसीय मान्यता जोगाउनका लागि यो सिरिज महत्वपूर्ण मानिएको छ। सिरिजअघि नेपाली खेलाडीले प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगिता खेलेका थिए। त्यसपछि एक साता भारतमा अभ्यास गरेको नेपाली टिम नामिबिया पुगेको थियो।
नामिबिया भ्रमणका लागि नियुक्त भएका व्यवस्थापकको विषयमा नेपाल क्रिकेट संघ (क्यान) भित्र विवाद भएको छ।
क्यानले करारमा नियुक्त भएका कर्मचारी प्रवल गौतमलाई व्यवस्थापकको जिम्मेवारी दिएर पठाएपछि कतिपय जिल्ला क्रिकेट संघले अध्यक्ष चतुरबहादुर चन्दसँग जवाफ समेत मागेका छन्।
यसअघि पनि व्यवस्थापकको कमजोरीले नेपाली टिमले विभिन्न समस्या भोगे पनि क्यान अझै पनि त्यस विषयमा गम्भीर हुन नसकेको उनीहरूको आरोप छ।
‘बिडम्बना, वास्तवमा हामी जिल्ला, प्रदेशका साथीहरू निकम्मा, नालायक नै रहेछौं त?,’ एक जिल्ला अध्यक्षले क्यानको फेसबुक ग्रुपको च्याटमा लेखेका छन्, ‘नेपाल भर्सेस नामिबियाको सिवाइसी लिग-२ का लागि एउटा ग्राउन्ड लेवलको कर्मचारीलाई टिम म्यानेजरको रुपमा नामिबिया पठाइनु हामी सबैका लागि दुर्भाग्यपूर्ण कुरा हो।’
उनले क्यान केन्द्रीय समिति, क्षेत्र र जिल्लाका पदाधिकारी व्यवस्थापकको रुपमा समक्ष हुँदा हुँदै पनि कर्मचारीलाई नामिबिया पठाएकोमा अध्यक्षसँग प्रश्न समेत गरेका छन्।
पछिल्ला केही वर्षमा क्यानले व्यवस्थापक नियुक्तमा ध्यान नपुर्याउँदा क्रिकेट टिममा विभिन्न समस्या आइरहेको छ।
पछिल्लो पटक तत्कालिन कप्तान सन्दीप लामिछानेमाथि बलात्कारको आरोप लाग्दा पनि तत्कालिन व्यवस्थापक सुनिल महासेठको भूमीकामा प्रश्न उठेको थियो।
यस्तै अघिल्लो वर्ष व्यवस्थापककै कमजोरीका कारण नेपाली महिला टिमले बंगलादेश भ्रमणका दौरान हैरानी खेप्न परेको थियो। स्कटल्यान्ड भ्रमण र अमेरिका भ्रमणमा पनि टिमको व्यवस्थपकीय जिम्मेवारी पाएका व्यक्तिको भूमीकामा समेत प्रश्न उठेका थिए।
अमेरिका लगायतका पश्चिमा देशमा नेपाली टिमले भ्रमण गर्दा कर्मचारी र पदाधिकारी पनि क्यानको नाममा जाने गरेका छन्। नेपाली टिमले विदेश भ्रमण गर्दा त्यसको व्यवस्थापकीय पाटोमा ध्यान नदिने तर भ्रमणमा मोह राख्ने गरेको क्यानका एक केन्द्रीय सदस्य बताउँछन्।
यसै वर्ष क्यानका क्रिकेट म्यानेजर विनोद दाससहित अध्यक्ष चन्द समेत अमेरिका गएका थिए। त्यतिबेला अमेरिका जानकै लागि क्यानले टिम लिडरको पद समेत सिर्जना गरेको थियो। तर तीनै कर्मचारी तथा पदाधिकारी नेपालमा राष्ट्रिय टिमले अभ्यास गर्दा खासै ध्यान नदिने उनीहरूको आरोप छ।
व्यवस्थापकका कमजोरी : खेलाडी जहाजमा उड्न नपाएकादेखि कप्तान नै टिम छोडेर हिँडेका घटनासम्म
नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेमाथि १७ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोप लागेपछि नेपाल क्रिकेट संघ (क्यान) को व्यवस्थापनमाथि प्रश्न उठे पनि क्यान गम्भीर हुन सकेन।
राष्ट्रिय टिमको बन्द प्रशिक्षणका दौरान घटना भएपछि बन्द प्रशिक्षणका क्रममा भएका कमजोरीको विषयमा छानबिन गर्न माग समेत गरियो। तर क्यान कानमा तेल हालेर बस्यो।
केन्यासँगको पाँच टी-२० सिरिज र तीन एक दिवसीय अभ्यास सिरिजका लागि क्यानले खेलाडीहरूलाई होटल हायात प्यालेसमा राखेको थियो। तत्कालीन कप्तान लामिछाने भने घर जाने भन्दै अर्कै होटलमा बसेको सिसिटिभी फुटेजबाट पनि पुष्टि भएको थियो।
यसरी बन्द प्रशिक्षणको नियम कप्तान स्वयंले नै तोडेको र उनीमाथि नाबालिगलाई बलात्कार गरेकोजस्तो गम्भीर आरोप लागेको विषयमा क्यानले अहिलेसम्म छानबिन थालिहाल्न जरूरी ठानेन। अर्कातर्फ बन्द प्रशिक्षणका दौरान खेलाडीको सबै जिम्मेवारी क्यान व्यवस्थापनको हुन्छ। पारिवारिक कारणले खेलाडी बाहिर जान पनि अनुमति माग्नुपर्छ।
नेपाली राष्ट्रिय टिमले कुनै प्रतियोगितामा भाग लिनुअघि क्यानले टिमको व्यवस्थापन गर्न व्यवस्थापक नियुक्त गर्ने गर्छ।
बन्द प्रशिक्षणका दौरान खेलाडीको खानपिन, अभ्यास, खेल पोशाक, खेल सामग्री लगायतका जिम्मेवारी व्यवस्थापकको हुन्छ। साथै कुनै समस्या परे पनि तत्काल समाधान खोज्नु व्यवस्थापकको जिम्मेवारी हो।
भदौ पहिलो साता केन्या जानुअघि नेपाली टिमको व्यवस्थापन गर्न क्यानले सुनिल महासेठलाई नियुक्त गरेको थियो।
महासेठले नेपाली टिम केन्याबाट फर्किएपछि सन्दीप लामिछानेमाथिको अभियोग र बन्द प्रशिक्षणकै दौरान उनी टिमलाई छोडेर अर्कै होटलमा बसेको विषयमा आफूलाई थाहै नभएको बताएका थिए।
नेपाली क्रिकेटका व्यवस्थापनमाथि प्रश्न उठेको यो पहिलो पटक होइन।
साउन पहिलो साता नेपाली राष्ट्रिय क्रिकेट टिम आइसिसी विश्वकप लिग-२ खेलेर स्कटल्यान्ड भ्रमणबाट नेपाल फर्किँदा साथमा व्यवस्थापक वीरेन्द्र चन्द थिएनन्। उनी नेपाली टिमलाई छाडेर लन्डनतर्फ गएका थिए।
स्वदेशसम्म नेपाली टिमको व्यवस्थापन गर्नु र लगत्तै भ्रमणको प्रतिवेदन पेश गर्नु जिम्मेवारी भए पनि चन्द स्कटल्यान्डबाट लन्डन गएपछि केही केन्द्रीय सदस्यले विरोधसमेत गरेका थिए।
पछि उनी क्यानका अध्यक्ष चतुरबादुर चन्द सहभागी भएको आइसिसीको कार्यक्रममा सँगै देखिएका थिए।
गत जेठमा नेपाली टिम आइसिसी विश्वकप लिग-२ को सिरिज खेल्न अमेरिका गएका थियो। त्यतिबेला टिमको लिडर पदमबहादुर खड्का थिए। नेपाली टिमले टेक्सासमा अभ्यास खेल खेलिरहँदा खड्काले भने न्युयोर्कमा घुमिरहेको फोटो सार्वजनिक गरे।
व्यवस्थापनको प्रमुख जिम्मेवारीमा रहेका खड्का टिमसँगै बस्न छाडेर घुमिरहँदा क्यान नेतृत्वले आँखा चिम्लिएको थियो।
अमेरिका पठाउनकै लागि क्यानले पछिल्ला वर्षमा पहिलो पटक ‘टिम लिडर’ पद सिर्जना गरेको थियो। त्यतिबेला टिम लिडर खड्का र व्यवस्थापकमा दुर्गा पाठक थिए।
गत वर्षको कात्तिकमा त व्यवस्थापको गल्तीका कारण नेपाली महिला राष्ट्रिय टिमले ठूलै हैरानी खेप्न परेको थियो। विश्वकप छनोटको तयारीका लागि बंगलादेश गएको नेपाली टिमले त्यहाँको स्थानीय टिमसँग अभ्यास खेल खेलेको थियो।
व्यवस्थापकको कमजोरीले गर्दा नेपाली टिम हवाई मार्ग हुँदै स्वदेश फर्कन पाएन। लगेज लिएर ढाकाको विमानस्थल पुगेका नेपाली महिला टिमलाई विमानस्थलका कर्मचारीले भित्र छिर्न दिएनन्। किनभने नेपाली टिमसँग कोरोनाभाइरसको पिसिआर रिपोर्ट थिएन।
नेपाल फर्कनका लागि पिसिआर रिपोर्ट अनिवार्य हुने व्यवस्थापकको रूपमा बंगलादेश गएकी क्यानकी केन्द्रीय सदस्य जयन्ती भट्टलाई कुनै हेक्का नै भएन।
फ्लाइट छुटेपछि खेलाडीलाई क्यानले बसबाट नेपाल फर्काएको थियो। लगत्तै कतार जाने कार्यक्रम रहेको नेपाली टिमका खेलाडी लामो यात्रा गर्दै मध्यरातमा झापा आइपुगेका थिए।
यो घटनाको विषयमा भने क्यानले छानबिन समिति गठन गरेको थियो। छानबिन समितिले व्यवस्थापकहरूले ‘माफी मागेको’ भन्दै प्रतिवेदन दिएपछि उनीहरूले उन्मुक्ति पाएका थिए।
व्यवस्थापकलाई स्पष्टीकरण सोध्दा ‘कार्यालयबाट समन्वय नभएको, आगामी दिनमा गल्ती नदोहोर्याउने,’ बताएका थिए।
यसरी पटक पटक व्यवस्थापकको कमजोरी हुँदा पनि क्यानले यस पदकलाई अझै पनि आफ्ना मान्छे नियुक्ती गर्ने पदको रुपमा लिएको छ।