सुदूरपश्चिम प्रदेशले यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
सोमबार भएको उपाधि भिडन्तमा लुम्बिनी प्रदेशलाई ६ विकेटले पराजित गर्दै सुदूरपश्चिम च्याम्पियन बनेको हो।
पहिले ब्याटिङ गरेको लुम्बिनी २९.१ ओभरमा ९२ रनमै अलआउट भयो। उसका लागि ओपनर आकाश त्रिपाठीले ३८ रन जोडे भने नर सार्कीले ११ रन बनाए। अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए।
बलिङमा सुदूरका मिलन बोहराले ५ विकेट लिए। उनले ९ ओभरमा २ मेडन फ्याँक्दा १५ रन मात्र दिए। हेमन्त धामी र नरेन साउदले २-२ विकेट लिए।
९३ रनको लक्ष्य सुदूरले २१ ओभरमा ४ विकेटको क्षतिमा पार गर्यो।
उसका लागि दिपक बोहराले २५ रन तथा कप्तान अनुराग सिंहले २२ रन जोडे।
गजेन्द्र बोहराले नटआउट ३९ रन जोड्दा सुदूरपश्चिम विजयी भयो। बलिङमा लुम्बिनीका रमेश कुर्मीले २ विकेट लिए।