नामिबीयामा जारी आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको अन्तिम खेलमा नेपालले स्कटल्यान्डलाई १२० रनको सामान्य लक्ष्य दिएको छ।
युनाईटेड क्रिकेट ग्राउन्ड विन्डहोकमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ३५.३ ओभरमा अलआउट हुँदै ११९ रनमा समेटियो।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४७ रन बनाए। ५७ बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे।
दीपेन्द्र सिंह ऐरीले १४ रन बनाउँदा सोमपाल कामीले १६ र ललित राजबंशीले ११ रन बनाए। नेपालका बाँकी कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपाललाई सस्तैमा समेट्ने क्रममा स्कटल्याण्डका ब्रेन्डन म्याकुम्यालन, मार्क वाट्ट र श्यान शरिफले समान २-२ विकेट लिए।
नामिविया भ्रमणमा जित निकाल्न नसकेको नेपाल आज पहिलो जितको खोजीमा हुनेछ। यस भ्रमणमा नेपालले तीन खेलिसक्दा दुईमा हार र एकमा बराबरीको नतिजा निकालेको छ ।
नामिवियासँगको पहिलो खेल वर्षाका कारण रद्व हुँदा अंक जोडेको नेपालले त्यसपछि लगातार दुई खेलमा हार व्यहोरेको थियो।
दोस्रो खेलमा स्कटल्यान्डसँग ३ विकेटले पराजित नेपाल बुधबार नामिवियासँग ८६ रनले पराजित भएको थियो।
नेपाललाई शीर्ष तीनमा रहँदै आगामी वर्ष हुने ग्लोबल छनोट खेल्न बाँकी सबै खेल जित्नुपर्ने दवाव छ । बुधबार नामिवियासँगको हारले नेपालको सम्भावना झनै झिनो बनेको छ । शीर्ष पाँचमा रहँदै ओडिआई मान्यता निरन्तरता दिन पनि जित्नै पर्ने दबाब छ ।
स्कटल्यान्ड ३० खेलमा २० जित र ७ मा हारसहित ४४ अंक जोडेर शीर्षस्थानमा छ। स्कटल्यान्डको शीर्ष तीन पक्का जस्तै बनेको छ। नेपाल २२ खेलमा ८ जित र १३ हारसहित १८ अंकका साथ छैटौं स्थानमा छ।
नेपालले गत जुलाईमा घरेलु मैदानमा स्कटल्यान्डलाई पहिलो खेलमा ५ विकेटले हराएको थियो। १ सय ४५ रनको लक्ष्य नेपालले २५.१ ओभरमा पूरा गरेको थियो। त्यो नै स्कटल्यान्डमाथि नेपालको क्रिकेट इतिहासकै पहिलो जित थियो।